देशभर नेपाली काँग्रेस पार्टीलाई मजबुत बनाउनका लागि काँग्रेस पार्टी जिल्ला सभापतिले छलफल शुरु गरेका छन् ।
स्थानीय वाग्मती क्लबमा प्रदेश नं ३ का काँग्रेसका जिल्ला सभापतिले यसबारे छलफल शुरु गरेका हुन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेका अवस्थामा निर्वाचनको समीक्षा गर्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्नेबारेमा जिल्ला सभापतिबीच छलफल भएको काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।
उनले भने, “ हालै सम्पन्न तीन वटै तहको निर्वाचनको समीक्षा गर्दै निर्वाचनमा पार्टीको कहाँ कहाँ के कमजोरी भए, कमजोरीलाई कसरी सुधार्दै लैजाने, संगठन र पार्टीलाई कसरी बलियो तथा मजबुत बनाउने भन्नेबारेमा छलफल भएको हो ।”
छलफलमा सभापतिहरु भक्तपुरका दुर्लभ थापा, काठमाडौँका सबुज बानियाँ, रसुवाका पेम्बा छिरिङ, मकवानपुरका इन्द्र बानियाँ, सिन्धुलीका उज्ज्वल बराल, रामेछापका लवश्री न्यौपाने, दोलखाका रुद्रबहादुर खड्का, सिन्धुपाल्चोकका विकास लामा, नुवाकोटका जगदीशनरसिंह केसी र काभ्रेपलाञ्चोकका मधु आचार्यको सहभागिता थियो ।