शितलहरले प्रभावित रौतहटको गढीमाई नगरपालिकाको विभिन्न स्थानमा पुगेर डा. गोबिन्द केसीले राहत वितरण गर्नुको साथै दलित तथा गरिबको निःशुल्क उपचार समेत गरेका छन् ।
बिहीबार अचानक रौतहटको समनपुर आएका डा. केसीले सुन्दरपुर, हरैया तथा लक्ष्मीपुरका स्थानियका घर घरमै पुगेर विपन्न परिवारलाई न्यानो कपडा, कम्बल तथा खानेकुरा बाडेका हुन् ।शितलहरले २० जनाभन्दा बढीको ज्यान गएको सुनेपछि आफूले राहत बोकेर आएको केसीले बताए ।
मुसहर बस्तीमा उनले झण्डै १५० थान कम्बल बाडेका छन् ।‘मधेशमा बसोबास गर्नेहरुको शारीरिक अवस्था हिमालमा बस्नेको जस्तो चिसोसँग अभ्यस्त छैन । त्यसैले यहाँ एक्कासि बढेको चिसोले वृद्ध तथा पुराना रोगीलाई मृत्युको मुखमा पुर्याइरहेको छ’, डा.केसीले भने, ‘ग्लोबल वार्मिङ्गको असर होला, गर्मी हुने क्षेत्रमा ३ सातादेखि हुस्सु र कुहिरो लागेको छ । हामी काठमाण्डौंबाट आएकालाई समेत यहाँ निकै चिसो महशुस भएको छ ।’
बिहीबार साँझबाट डा. केसीले समनपुरको स्वास्थ्य केन्द्रमा बिरामीहरुको निःशुल्क चेकजाँच र औषधि उपचार शुरु गरेका छन् ।