बाघ गणानाका लागि राखिएको ११ क्यामेरा चोरी

 192 पटक हेरिएको

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणानाका लागि राखिएका ११ क्यामेरा चोरी भएका छन् । निकुञ्जमा राखिएका क्यामेरा नै चोरी भएपछि बाघ गणना प्रभावित भएको छ ।
गत आइतबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा क्यमेरा ट्रयापिङ प्रविधिको प्रयोग गरी बाघ गणना सुरु गरिएको थियो । क्यामेरा ट्रयापिङ का लागि निकुञ्जमा करिब तीन सय थान क्यामेरा राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए । राखिएको दुई दिनमा नै ११ थान क्यामेरा चोरी भएको छ ।

दुईवटा क्यामेरा भने क्षतिग्रस्त भएका छन् । हात्तीले एउटा र बाघले एउटा क्यामेरामा क्षति पुर्याएको भण्डारीले बताए । अवैध रुपमा निकुञ्ज प्रवेश गरेकाहरुको फोटो पनि क्यमेराले रेकर्ड गर्ने हुनाले चिनिने डरले उनीहरुले नै क्यामेरा चोरी गर्ने गरेको उनको भनाई छ ।

प्रमुख संरक्षण अधिकृत भण्डारीले बाघ गणनाका लागि राखिएको क्यामेरा सुरक्षित बनाउनु मुख्य चुनौती भएको बताए । उनले भने, ‘वन्यजन्तुबाट क्यामेरा क्षति हुने र अर्काेतर्फ अवैध रुपमा निकुञ्ज प्रवेश गर्नेहरुले क्यामेरा चोर्ने गरेको देखिन्छ ।’ सन् २०१६ मा भएको बाघ गणनामा पाँच सय १४ वटा क्यामेरा क्षति भएका थिए ।

क्यामेराले कैद भएको बाघको पाटा हेरेर बाघ संख्या यकिन गरिन्छ । गणनाबाट निकुञ्जमा पछिल्लो समय बाघको वास्तविक संख्या पत्ता लाग्नुका साथै यसको अवस्था, वासस्थान र आहारा प्रजातिका बारेमा जानकारी प्राप्त हुने निकुञ्जले जनाएको छ । नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार