बेंसीशहर । हिमालपारीको जिल्ला मनाङमाहिमतालहरु जम्न सुरु गरेका छन् । पछिल्ला दिन अत्याधिक चिसो बढेसँगै मनाङमा रहेका हिमताल जमेर चट्टान सरह भएका हुन् । स्थानीय बासिन्दाका अनुसार समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटरमा रहेको तिलिचो, ३ हजार ५ सय ४० मिटर उचाइमा रहेको गंगापूर्ण, भ्राकामा पर्ने केंचो ताल, धारापानीको नाचैमा पर्ने डोना अर्थात् ठूलागी र थोंचेमा पर्ने पोंकरलगायतका ताल पनि यतिबेला जमेका छन् । चिसोसँगै मनाङका स्थानीयहरुको जनजीवन प्रभावित बनेको छ भने खानेपानीको मुहान समेत जम्दा उनीहरु झनै समस्यामा परेका छन् ।
हिजोआज मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस १० देखि माइनस १२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । चिसो बढेसँगै केही मात्रामा मनाङ पुगेका आन्तरिक तथा बाह्य पर्यटकहरु भने जमेको तालमाथि हिँडेर नौलो अनूभव लिन पाउँदा दंग पर्ने गरेका छन् ।
मनाङका ताल हेर्न बर्षेनि हजारौं पर्यटक आउने र जाडो समयमा पनि आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षण अधिकृत बाबुलाल तिरुवाले जानकारी दिए । मनाङमा धेरै हिमताल रहेकाले पनि पर्यटकको मात्रमा बृद्धि हुने गरेको उनले दाबी गरे ।
प्रजिअ हरिप्रसाद पन्तका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ । निर्वाचित प्रतिनिधिसभा सांसद पोल्देनछोपाङ गुरुङले प्रचार–प्रसारको अभावमा विभिन्न तालको बारेमा जानकारीको अभावमा पर्यटकहरु पुग्न सकेका छैनन् । ४ वटै स्थानीय तहमा ताल रहेको र उक्त स्थानसम्म पुग्नका लागि अझैसम्म पनि सहज बाटो बनेको छैन ।