असन क्षेत्रमा चारपांग्रे गाडी चलाउन नपाइने


काठमाडौंको असन क्षेत्रलाई मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बढी भिडभाड हुने असनक्षेत्र आजदेखि चारपांग्रे गाडी निषेध भएको जानकारी दिए ।

काठमाडौं महानगरपालिकाको वडा कार्यालयले ट्राफिक संकेत अंकित साइनबोर्डहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ । आजै बिहानैदेखि निषेधित क्षेत्र कार्यान्वयन गर्ने तयारी भए पनि बोर्ड राख्न ढिलाइ भएकाले केही घण्टा ढिला कार्यान्वयन हुने छ ।

‘हिजो सार्वजनिक विदा परेकाले वडाबाट सबै उपलब्ध हुन ढिला भयो । त्यही भएर अहिले पनि बोर्ड राख्ने काम जारी छ । तर आजै सबै काम सकेर आजैदेखि चारपांग्रे निषेध गर्छौं,’ रञ्जितकारले भने ।

काठमाडौंको पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गर्दछ । साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश गरिदिँदा पैदलयात्रीले झन् सास्ती खेप्नुपर्दछ । त्यसैले सहजरुपमा आवतजावतको व्यवस्था मिलाउन चारपांग्रे गाडी निषेध गरिएको रञ्जितकारले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार