इलाम । माघे सङ्क्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माईबेनीमा सोमबारदेखि माईबेनी मेला शुरू भएको छ ।
तीन दिनसम्म लाग्ने मेलामा मकर नुहाउने र मेला भर्न आउनेको घुइँचो लागेको छ । माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वासका साथ सर्वसाधारण माईबेनी मेलामा मकर नुहाउन आउने गरेका छन् ।
यहाँ मकर स्नान गर्न छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ तथा सीमावर्ती भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाट हजारौँ सर्वसाधारण एक सातादेखिनै माईबेनी आइपुगेका छन् ।
इलाम जिल्लाको नामसालिङ र गोदकबीचमा पर्ने माईबेनीमा लाग्ने यो मेला वर्षौं अघिदेखि लाग्दैआएको छ । माईबेनीबाट इलामबजारतर्पm फर्कँदा दुई घण्टाको पैदल हिँडेर बेनीमार्गबाट राईगाउँ, तिल्केनी हुँदै इलाम बजार आउन सकिन्छ भने माईबेनीसम्म ट्याक्सीको सुविधा पनि छ ।
बडाहाकिम गजराजसिंहको पालादेखि शुरू
मकर सङ्क्रान्तिका दिन पवित्र नदीमा गएर मकर स्नान गर्ने हिन्दूहरूको धार्मिक प्रचलन भए पनि माईबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य बडाहाकिम गजराजसिंह थापाको पालादेखि शुरू भएको कुरा इलामका अग्रज भीष्म वैद्य बताउँछन् ।
यसरी भयो मेलाको सुरुवात
वडाहाकिम थापाकी पत्नी बदनकुमारी धर्मकर्मप्रति आस्थावान् भएकी हुनाले काठमाडौँमा माघे सङ्क्रान्तिका बेलामा मकर नुहाउने गर्दथिन् । मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी रानी बदनकुमारीले यहाँ माघे सङ्क्रान्तिका दिन मकर नुहाउन नपाइने भइयो भनी बडाहाकिमसँग विस्मात गरेकी हुनाले बडाहाकिमले आफ्नी पत्नीलाई यहाँ पनि त्रिवेणी छ, नुहाउँदा भइहाल्छ नि, नुहाउँछौ भने म धुमधामसँग मेला लगाइदिन्छु भनेपछि रानीको इच्छानुसार विसं १९२०÷२१ देखि संस्थागत रूपमा मेला लगाउने शुरुवात भएको बताइन्छ ।