काठमाडौं । बरिष्ठ संगीतकार बिजय सिंह मुनालको निधन भएको छ । पारिवारिक घुमघामको शिलशिलामा सहकर्मीहरुका साथ धनगडी पुगेका उनको आज निधन भएको हो ।
रेडियो नेपालकी बरिष्ठ रेडियो प्रसारक दिदी सुर्य कुमारी पन्तले उनको निधन भएको पुष्टी गरेकी छन् । राती खाना खाएर सुतेका उनी बिहान मृत अवस्थामा फेला परेको उनले बताएकी छन् ।हिजो बेलुका ९ बजे उनले काठमाडौँ बानेश्वरमा रहेकी आफ्नी छोरी गायिका वृन्दासँग टिकापुर घुमघामको दिनभरिको रमाइलो अनुभूति सुनाएका थिए । रमाइलो घुमघाम गरि परिवारसँग कुराकानी गरेर सामान्य अवस्था मै सुतेका उनी बिहान मृत अवस्थामा भेटिएका हुन् । अहिले उहाँलाई धनगडीबाट एम्बुलेन्समा हालेर काठमाडौँ ल्याईदैछ ।
बिजय सिंह मुनालका ५ दर्जन भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भएका छन्, भने रेडियो बाँहिर पनि उत्तिकै गीतहरु रेकर्ड भएका छन् ।
उहाँ उदित नारायण झाको सबै भन्दा मिल्ने साथि थिए । उदितनारायण , मधु क्षेत्री र बिजय सिंह मुनालको सहयात्रा कुनै बेला नेपाली संगीतमा निकै जमेको थियो । उदित नारायण मुम्बइमा स्थापित गराउन समेत उनले महत्वपुर्ण भूमिका खेलेका थिए ।
उनी कुनै ताका रेडियो नेपालका गीत रेकर्डहरुमा कङ्गो बादन गर्थे ,स्टेज कार्यक्रममा समेत कंगो मास्टरका रुपमा चिनिएका थिए । रेडियो नेपालको गीत रेकडिङ स्टुडियोमा उनी २०३५ सालदेखि कङ्गो बादकका रुपमा टेक बेसिस सेवामा भर्ति भएका थिए ।
उनले आधुनिक बाद्यबादनको यात्रा २०४४ सालमा आफ्नै संगीत तथा तारा देवीको स्वर रहेको गीत ‘तिमी मेरी छोरी हौ’ बाट गरेका थिए ।
नयाँ पुस्तामा पनि निकै भिजेका उनी पछिल्लो समय बानेश्वर बस्दै आएका थिए । आफ्नै निवासमा नयाँ पुस्ताका नवोदित प्रतिभाहरुलाई संगीत प्रशिक्षणमासमेत उनी क्रियासिल थिए ।
उनको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्ठी गरिनेछ । उनका ‘तमासा भएछु म त मायाको बजारमा’, ‘तिम्रो अधरले’ लगायतका थुप्रै गीत हिट छन् ।