गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण एक वर्षभित्र पूरा हुने


लुम्बिनी । पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला उत्पन्न भएका अवरोधले निर्माण कार्य बिथोलिँदै आएकामा आयोजनाले नेपाली ठेकेदारलाई विदाइ गरिसकेको छ । अब चिनिया कम्पनी आफैंले पर्याप्त जनशक्ति थपेर कामलाई तीव्रता दिएपछि विमानस्थल निर्माण समयमै सम्पन्न हुनेमा आशा पलाएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गर्नुभएको थियो । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक रुपमा गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी गर्नुभयो । उहाँले भन्नुभयो – “निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ । त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिनेमा सबै ढुक्क हुन सकिन्छ ।”

उहाँका अनुसार निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिनै लागेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको ढलान एक महिनाभित्र सकिने आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ । अब वेस र पीचको काम मात्रै बाँकी रहेको छ । त्यसैगरी, अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार विमानस्थल निर्माणमा अहिले १५० देखि २०० जना दक्ष जनशक्तिले काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार