काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले ठण्डी र शितलहरबाट प्रभावित क्षेत्रमा राहतसहित सबै संरचनाहरुलाई परिचालन गर्न सरकारसँग आग्रह गरेको छ । समाजका महासचिव उत्तम पुडासैनीले शुक्रबार एक विज्ञप्ति जारी सरकारसँग सो आग्रह गरेका हुन् ।
देशका विभिन्न स्थानमा ठण्डी र तराईमा शितलहरका कारण नागरिकहरुको मृत्यु भएको दुःखद घटनाले आफुहरु स्तब्ध भएको जनाउँदै सो संस्थाले तत्काल राहत प्रदान गर्न विशेष प्याकेजसहित व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
विज्ञप्तिममा भनिएको छ, ठण्डी र शित लहरका कारण कसैले पनि जीवन गुमाउनु नपरोस भनेर राज्यले बेला छदै ध्यान नदिनु संवेदनशिलताको अभाव र उत्तरदायित्वबाट विमुख भएको शान्ति समाज ठान्दछ । ठण्डी र शितलहरको प्रकोपमा परेका नागरिकहरुलाई द्रुत गतिमा राहत प्रदान गर्न विशेष प्याकेजसहित व्यवस्था सरकारले शिघ्र गरोस भन्ने शान्ति समाज माग गर्दछ ।
त्यस्तै, सो संस्थाले मृतकका परिवारलाई समेत यथाशिघ्र राहत उपलव्ध गराउन आग्रह गरेको छ ।