गौचन हत्याका मुख्य योजनाकार बस्नेतले भने, ‘साढे दुई करोड नदिएपछि हत्या गरे’


काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न अभियुक्तहरुलाई सर्वश्वसहित जन्मकैद सजायको मागदाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रहरीले संगठित अपराध र कर्तव्य ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष र संगठित अपराध मुद्दामा थप १० वर्ष गरी सबै अभियुक्तलाई ३० वर्ष कैद सजायको माग गरिएको छ ।
प्रहरीले हत्याका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित २० भन्दा धेरै व्यक्ति विरुद्ध मुद्दा दायरको सिफारिस गरेको हो । फरार रहेका गुन्डा नाइके मनोज पुनलाई पनि प्रतिवादी बनाइएको छ ।

हत्याका मुख्य योजनाकार बस्नेतले बयानका क्रममा आफूले गौचनको हत्या गर्न लगाएको स्विकारेका छन्।

गौचनले आफूलाई साढे दुई करोड दिनुपर्नेमा त्यो नदिएपछि हत्या गरेको उनले लिखित बयानमा बताएका छन् । अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गौचनको डाँफे कन्ट्रक्सनमा कुमार श्रेष्ठ ‘कुमार घैंटे’ मार्फत आफूले पनि लगानी गरेको र घैंटे मारिएपछि आफूले पैसा फिर्ता मागेकोमा नदिएपछि हत्या गरेको बताएका छन् ।

प्रहरीले पनि हत्यामा लेनदेन तथा फिरौती नै मुख्य कारण रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार