काठमाडौं । उनलाई देख्दा लाथ्यो, अविवाहित कलिली कन्या हुन् ।
निलो गाढा जम्स सुटमा ठाँटिएर फ्यानहरुले घेरिएकी ती सुन्दरीलाई देख्दा विवाहित भएको कसले भन्ला र ?
पहिलोपल्ट देख्ने र भेट्नेलाई उनी एक सन्तानकी आमा हुन् भनेर पत्याउन गाह्रै पर्ला ।
हजूर, उनी अर्थात् सदावहादर सुन्दरी माल्भिका सुब्बाको हामी चर्चा गरिरहेका छौं । सेल्फी खिच्ने भीड छिचोल्दै हामीले यी ‘स्मार्ट आमा’सँग बच्चाकै लालनपालनबारे बात मार्यौं ।
स्मार्ट आमा
पूर्वमिस नेपाल माल्भिकासँग आमा हुनुको खास अनुभव छ । उनले प्रसव वेदना सहेकी छन् । नवजात शिशुलाई दुध चुसाएकी छन् । बच्चाको स्याहार-सुसार गरेकी छन् । बच्चासँगै खेलेकी छन् । रमाएकी छन् । र, कहिल्यै नअघाउने क्षण साटेकी छन् ।
माल्भिकाका छोरा १८ महिनाका भए । छोराको न्वारान गरिएको छ, जाहिर रियो सुब्बा श्रेष्ठ । बडो अनौठो नाम ।
‘जाहिरचाहीं रियाजको उल्टो हो । रियोचाहीं मेरो बाबाको नाम,’ उनले भनिन्, ‘घरमा उसलाई रियो भनेर बोलाउँछु ।’
बच्चा जन्माइसकेपछि महिलाको सौन्दर्यमा पहिलेजस्तो चमक कायम रहँदैन भन्ने गरिन्छ । बच्चालाई स्तनपान गराएपछि शारीरिक सुन्दरता गुम्छ पनि भनिन्छ । बच्चा हुर्काउनुपर्ने भएकाले कतिपय महिलाले आफ्नो करिअरलाई बिट मारेका उदाहरण पनि छन् ।