अमेरिका जानुअघि नेपाली चलचित्रमा रमेश उप्रेतीकै जमाना थियो । ती दिनहरुमा हिरोको विम्ब यस्तो थियो, बलिष्ठ, हृष्टपुष्ट, चकलेटी । त्यही धङ्धङी बोकेर अमेरिका पुगेका उनी लामो बसाईपछि नेपाल फर्किए ।
प्रवासी जीवनमा पनि उनको ‘हिरोइज्म’ सकिएको रहेनछ । नेपाल र्फकनासाथ सिनेमा निर्माणमा लागे । तर यसबेला नेपाली समाजले बनाएको हिरोको बिम्ब फेरिइसकेको थियो । खस्रो छाला भएका हिरोहरुले सिल्भर स्क्रिनमा धमाकेदार इन्ट्री मारिसकेका थिए ।
तर, रमेश उप्रेती पुरानै स्टाइलमा पदार्पण भए चलचित्र ‘ऐश्वर्य’बाट । यो उनकै लगानीको फिल्म हो । अघिल्लो फिल्म ‘ब्रासलेट’ले बनाएको खाडल भरथेग गर्न यो फिल्म सफल रह्यो । दर्शकले रुचाए । हामीसँगको भेटमा पनि रमेश उप्रेतीको हिरोइज्म जस्ताको तस्तै थियो । उनको जीवनशैली पनि ‘हिरो’कै जस्तो रहेछ ।
जिमका क्रेजी
हामीसँग कुराकानी गर्नुअघि उनी जिममा थिए । खासमा उनी जिमका सौखिन रहेछन् । दिनमा तीन-चार घण्टा नियमित जिम गर्छु भन्दै थिए । ‘फुर्सद छ भने म जिममा इन्जोए गर्न सक्छु,’ रमेशले सुनाए, ‘त्यो मेरो क्रेज नै हो ।’
शारीरिक तन्दरुस्तीका लागि उनी योग गर्छन्, व्यायाम गर्छन्, जिम धाउँछन् । सोहि अनुसार खानपान मिलाउँछन् । ‘व्यायाम गरेपछि त्यस्तै पोषणको आवश्यक हुन्छ,’ रमेश भन्छन्, ‘त्यसैले भरपुर खाना पनि खानुपर्छ ।’
जिम जानु, व्यायाम गर्नु, योग गर्नु शारीरिक स्वास्थ्यका लागि हो । ‘मर्नु त छँदैछ,’ उनले सुनाए, ‘तर बाँचुञ्जेल निरोगी हुन पाइयोस् ।’