अख्तियारद्वारा नायब सुब्बाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय भक्तपुरका नायब सुब्बा राजु गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार नायब सुब्बा गौतमले जग्गाधनी प्रमाणपुर्जाको मोहीको नाम लगत कट्टा गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग रु ६ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका थिए ।

आयोगले नायब सुब्बा गौतमलाई कैद सजायको मागदाबी गरिएको जनाएको छ ।

कीर्ते शेयर कारोबार गर्ने कारबाहीको दायरामा

नेपाल धितोपत्र बोर्डले कीर्ते कागजात बनाएर विभिन्न जलविद्युत् कम्पनीको शेयर कारोबार गर्ने तीनवटा शेयर दलाल कम्पनी र त्यसको कार्यकारी प्रमुखलाई कारबाही गरेको छ ।

बोर्डले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी तीन जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गर्नेलाई कारबाही गरेको जनाएको हो ।

बोर्डका अनुसार चिलिमे जलविद्युत् कम्पनी, नेशनल हाइड्रो पावर र सानिमा माई हाइड्रो पावर कम्पनीको कीर्ते शेयर कारोबार गर्ने अग्रवाल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र सिप्रवी सेक्युरिटिजलाई कारबाही गर्ने निर्णय भएको हो ।

ती शेयर दलाल कम्पनीलाई धितोपत्र व्यवसायी÷धितोपत्र दलाल, व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार कारबाही गरिएको हो ।

विभिन्न कानून तथा नियमको उल्लंघन गर्दै चिलिमेको कीर्ते शेयर कारोबारमा संलग्न अग्रवाल सेक्युरिटिजलाई रु १० लाख ५० हजार जरिवाना गरेको छ ।

यसैगरी, नेशनल हाइड्रोको कीर्ते शेयर कारोबारमा संलग्न श्रीहरि सेक्युरिटिजलाई पनि समान रु १० लाख ५० हजार जरिवाना तोकेको छ । दुवै शेयर दलाल कम्पनीका कार्यकारी प्रमुखलाई रु ५०÷५० हजार जरिवाना गरिएको छ । बोर्डका अनुसार सिप्रवी सेक्युरिटजलाई रु ५० हजार जरिवाना गराउँदै त्यसका प्रमुखलाई सचेत गराइएको छ ।

शेयर बजारमा कीर्ते कारोबार भएको उजुरीपछि बोर्डले अनुसन्धान थालेको थियो । बोर्डले उक्त जलविद्युत् कम्पनीको कीर्ते शेयर कारोबार गरेको विषयमा छानबिन गरी गत असार २३ गते नै जिल्ला अदालत काठमाडौँमा मुद्दासमेत दायर गरिसकिएको विज्ञप्तिमा जनाएको छ ।

बोर्डले लामो अनुसन्धान तथा अध्ययनबाट नक्कली कारोबार गर्ने शेयर दलाल कम्पनीलाई कारबाही गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार