माघ १ देखि साताव्यापी राष्ट्रिय योग दिवस मनाउने तयारी

काठमाडौँ । तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर मनाइने भएको छ । शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो । समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।

सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो । विभिन्न संघ संस्थाको सहयोगमा पहिलो दिन प्रभातफेरी र साताको अन्यतिर योगसम्बन्धी अन्तक्रिया गर्ने योग दिवस मूल समारोह समितिले जनाएको छ ।

तेस्रो योग दिवसका लागि नारा तय गर्न डा.हरिप्रसाद पोखरेल र अन्तक्र्रिया सञ्चालनका लागि डा.चिन्तामणि योगीको संयोजकत्वमा तथा प्रभातफेरिका लागि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रतिनिधिको सयोजकत्वमा उपसमिति गठन गरिएको छ ।

छलफलमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वीय दर्शनबाट अभिप्रेरित हामी नेपालीले योगलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पाउनु आफैँमा गौरवको विषय भएको बताए । उनले भने, “ हाम्रै ऋषिमुनिले विगतमा योग साधना गरेकाले हामीले पुनर्जीवन दिने प्रयास मात्र गरेका हौँ, योग साधनाले मानिसलाई शान्त र स्वस्थ्य बनाउन योगदान पुर्याउँछ ।” मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पूर्वीय दर्शनको अभिन्न अंगका रुपमा रहेको योग साधनालाई मानिसका जीवनशैली बनाउने प्रयासले सुखको अनुभूति दिलाउने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार