गाउँपालिकामा लेखापाल नहुँदा काम ठप्प


बाबियाचौर, म्याग्दी । २५ पुस म्याग्दीको धौलागिरि गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार ठप्प भएको छ ।

म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको कार्यालय करिब दुई महिनादेखि लेखापालविहीन भएको छ । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी रोकिएको छ ।

कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । धौलागिरि गाउँपालिकामा कार्यरत लेखापाल गुणराज रिजालको पर्वतको जलजला गाउँपालिकामा केही समयअघि सरुवा भएको थियो । रिजालको सरुवा भएपछि अर्का लेखापाल नआएकाले समस्या भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

“महालेखा नियन्त्रकको कार्यालयले बेनी अस्पतालका लेखापाललाई सरुवा गरेको छ, तर उहाँ दुर्गम भएको कारण देखाउँदै अहिलेसम्म आउनुभएन” अध्यक्ष पुनले भन्नुभयो, “सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेश्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउनेलगायत सबै आर्थिक कारोबार ठप्प भएको छ ।”

प्रजिअ कृष्णप्रसाद अधिकारीले कोष तथा लेखा नियन्त्रकको कार्यालयसँग समन्वय गरेर गाउँपालिकामा लेखापाल खटाउन पहल गर्ने बताउनुभयो । म्याग्दीका सदरमुकाम स्थित कार्यालयका कर्मचारी काम नपाएर घाप तापेर दिन बिताइरहेका छन् भने स्थानीय तहमा कर्मचारी नभएर सेवा प्रवाह प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार