चिसो बढेपछि कर्णालीमा भाइरल ज्वरोको प्रकोप

सुर्खेत । शनिबार ८ दशमलव ७ डिग्री सेल्सियस रहेको जुम्लाको तापक्रम आइतबार ७ दशमलव ४ मा पुग्यो। मुगुमा पनि शनिबारको भन्दा घटेर माइनस ८ डिग्री सेल्सियसमा झर्यो। क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले विभिन्न केन्द्रहरुबाट गरेको मापन अनुसार प्रदेश नं ६ का हिमाली जिल्लाको तापक्रममा दिनप्रतिदिन गिरावट आएको छ। तापक्रममा गिरावट आएसँगै बढेको चिसोले यहाँका नागरिकको जनजीवन कष्टपूर्ण बनेको छ। चिसोसँगै फैलिएको भारइल ज्वरोले हुम्ला र जाजरकोटमा गरी १५ जनाले ज्यान समेत गुमाइसकेका छन्।

जाडो अत्यधिक बढेपछि दैनिक जीवनयापनमा समस्या भएको मुगुको सोरुगाउँका पानकली शाहीले बताइन्। बिहान र बेलुकाको समयमा आगो तापेर घरभित्रै बस्नुपर्ने बाध्यता सुनाउँदै उनले भनिन्, ‘काम गर्नै सकिएको छैन, चिसोले घरबाहिर निस्कन समेत मुस्किल पर्ने गरेको छ।’

मुगु मात्र होइन यहाँका हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा चिसो अत्यधिक बढेको छ। तापक्रममा गिरावट आएपछि दैनिकी कष्टकर बन्दै गएको स्थानयीहरु बताउँछन्। हुम्लाको सर्केगाडका गोरे रोकायाले धाराको पानीसमेत जम्ने गरेको जानकारी दिए। ती क्षेत्रमा चिसोसँगै भाइरल ज्वरोले स्थानीय थलिन थालेका छन्। ‘चिसो अत्यधिक छ, घरबाहिर निस्कन गाह्रो हुन्छ,’ उनले भने, ‘त्यसैमाथि रुघाखोकी र ज्वरोले मान्छेको ज्यानसमेत लगिसक्यो।’

आर्थिक अवस्था कमजोर भएका परिवारमा न्यानो कपडा नहुँदा चिसोले बढी सताउने गरेको छ। ‘लुगाफाटो किन्न पैसा हुँदैन, चिसोले समातिहाल्छ,’ उनी भन्छन्, ‘गरिबलाई जेले पनि धेरै सताउने रहेछ।’

चिसोसँगै फैलिएको भाइरल ज्वरोले सर्केगाडमा ६ जनाले ज्यान गुमाइसकेका छन् भने अन्य बिरामी परेका छन्। जाडो बढेसँगै यहाँका नागरिकले न्यानोका लागि सामूहिक रुपमा आगो ताप्ने गरेका छन्।

कर्णालीमा मात्र होइन सुर्खेत, दैलेख, जाजरकोट र कालिकोटमा पनि चिसो बढेको छ। शनिवार शून्य दशमलव ९ डिग्री सेल्सियस रहेको सुर्खेतको तापक्रम आइतबार शून्य दशमवल ५ डिग्री सेल्सियसमा झरेको हावापानी कार्यालय सुर्खेतका प्रमुख निराजन सापकोटाले जानकारी दिए। मध्य तथा सुदूरपश्चिममा चिसो बढ्दै गएकाले चिसोबाट बच्ने उपाए अपनाउन उनले सुझाव दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार