रौतहटमा मात्रै जाडोले कठ्यांग्रिएर पाँच जनाको मृत्यु


रौतहट । रौतहटमा मात्रै जाडोले कठ्यांग्रिएर पाँचजनाको मृत्यु भएको छ । आइतबार परोहा नगरपालिका–२ का ४५ वर्षीय शेख समिम र वडा नम्बर–९ का ६५ वर्षीय मरसियादेवी कुर्मीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि, शनिबार गडीमाई नगरपालिका–४ का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका–७ मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका–१ स्थित चिम्नीभट्टामा काम गर्न आएका सर्लाहीका नेकमहम्मद अलीको मृत्यु भएको थियो ।

मृत्यु हुने सबै विपन्न र रोजगारीका लागि रौतहट आएका मजदुर हुन् । विगत एक हप्तादेखि बाक्लो कुहिरोसँगै शीतलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ ।

चिसो हावासँगै शीतको वर्षा हुने गरेका कारणले चिसो अत्याधिक मात्रामा बढेको हो । जिल्लामा शीतलहर बढेपछि जिल्ला वन कार्यालयले अहिलेसम्म ९ स्थानमा दाउरा वितरण गरेको जनाएको छ ।

शीतलहरले जनजीवन प्रभावित भएपछि आपूर्ति समितिबाट सुलभ मूल्यमा दाउरा उपलब्ध गराइएको वन अधिकृत दीर्घनारायण कोइरालाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार