लिफ्ट नदिएको झोकमा खुकुरी हानाहान !


तनहुँ । मोटरसाइकलमा लिफ्ट नदिएको झोकमा तनहुँमा भएको खुकुरी हानाहानमा २ जना घाइते भएका छन् ।तनहुँको ब्यास नगरपालिका–७ स्थित सेरामा शनिबार भएको खुकुरी हानाहानमा सोही ठाउँका घैँटे भनिने २४ वर्षीय रोशन गुरुङ र २१ वर्षीय सुवास गुरुङ घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार सुवासले रोशनको साथिलाई मोटरसाइकलमा लिफ्ट नदिएको विषयमा विवाद भएपछि खुकुरी हानाहान भएको हो ।

विवादपछि रोशनले खुकुरी निकालेर सुवासलाई प्रहार गरेको र सुवासले पनि रोशनकै खुकुरी खोसेर उसैमाथि हानेपछि दुवैजना गम्भीर घाइते भएका हुन् ।

सुवास र रोशन दुवैको टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । दुवै जनालाई दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि लगिए पनि सो अस्पतालले सामान्य उपचार गरी थप उपचारका लागि मेट्रो सिटी अस्पताल, पोखरा रिफर गरेको छ ।

एउटै अस्पतालमा उपचार हुँदा फेरि झडप हुने देखेर रोशनको सोही अस्पताल र सुवासलाई मणिपाल शिक्षण अस्पतालमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार