विमान केही घण्टाका लागि डिले भयो । प्राविधिक कारण बताएर बजेको सूचनाको सुरिलो नारी स्वर लबीमा गुञ्जियो । यात्रु चहलपहल गर्न लागे ।
उठेर दुवै घुँडा तन्काएपछि म फेरि त्यही बेन्चीमा बसेँ । पुस्तक हातमै थियो ।
त्यही बेला मैले मानबहादुर क्षत्रीलाई लबीको अघिल्लो सिटमा देखेँ । पुटुक्क खैरो झोला पिठ्युँपट्टि बोकेर ऊ पछाडि फर्किंदा हाम्रा आँखा जुधेका थिए ।
मानबहादुरसितको यो मेरो चौथो भेट थियो ।
१.
पहिलोपल्ट मैले मानबहादुरलाई लमजुङको भार्तेमा भेटेको थिएँ, ०५९ सालमा । भूमिगत थियो । त्यो सुदूर गाउँ । पूरानो स्कुल । साँझ पर्दै गरेको समय ।
पूरानो सामुदायिक स्कुलको कक्षामा भएको पत्रकार सम्मेलनमा उसले जोशिलो भाषण गरेको थियो, ‘क्रान्तिको कारवाहीमा हुने घटना सामान्य हुन् । बाँचे राज्य र मरे एउटा ज्यान भनेर हामी क्रान्तिमा हिँडेका मान्छे, देशको मुक्तिका लगि जे पनि गर्न सक्छौं ।’
उसले यसरी बोल्दा घाँटीका नसा फुलेका थिए । अनुहार रातो-रातो भएको थियो । गालामा झपक्क दारी थिए र ऊ त्यसलाई बेला-बेला दाहिने हातले सम्याएजस्तो गरिरहन्थ्यो । रातो टोपी लगाएको थियो । सामान्य सर्ट, पाइन्ट, सस्ताखाले गोल्डस्टार जुत्ता उसको पहिरन थियो ।
उसको पछिपछि हरियो कम्ब्याट ड्रेस लगाएको लडाकु पनि मैलो तर कसिलो झोला बोकेर बसेको थियो । कम्मरको दाहिनेपट्टि उसले भिरेको पेस्तोल प्रष्टसित देखिन्थ्यो ।
बोल्दा पटक-पटक मुठ्ठी बटारेर स्वरलाई भित्रैदेखि खिचेको थियो । यसो गर्दा स्वरको कडापन अझ खिरिलो भएको थियो । माइक थिएन । सानो कोठामा माइकको जरुरी पनि थिएन ।
हाते माइक त थियो तर त्यसले काम गरेन ।