अन्तर्राष्ट्रिय हवाई यात्रु बढे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने र बाहिरिने हवाई यात्रुको संख्या ८ प्रतिशतले वृद्धि भएको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २०१६ को तुलनामा सन् २०१७ मा हवाई यात्रुको संख्या बढेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१७ मा ३८ लाख आठ हजार पाँच सय १६ यात्रु विश्वका विभिन्न देश पुगेका छन्। सन् २०१६ को तुलनामा सन् २०१७ मा अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या दुई लाख ९७ हजार सात सय ४४ बढी हो। सन् २०१६ मा नेपाल भित्रिने र बाहिरिने हवाई यात्रुको संख्या ३५ लाख १० हजार सात सय ४२ थियो।

विमानस्थल कार्यालयका निमित्त प्रमुख सुधिर चौधरीका अनुसार बढ्दो पर्यटक संख्या र रोजगारी तथा अध्ययनका लागि बिदेसिने नेपालीको संख्या बढेपछि अन्तर्राष्ट्रिय हवाई यात्रु पनि बढेको हो। सन् २०१७ को सुरुवातसँगै नेपालबाट विश्वका विभिन्न मुलुक जाने र नेपाल भित्रिने यात्रुको संख्या बढेको थियो।

सन् २०१७ मा त्रिभुवन विमानस्थल भएर बाहिरिने यात्रुको संख्या २० लाख ७८ हजार पाँच सय ९२ छ भने भित्रिने १७ लाख २९ हजार नौ सय २४ जना छन्। तर, सन् २०१६ मा बाहिरिने हवाई यात्रु संख्या १८ लाख २३ हजार पाँच सय ९८ थियो। यसैगरी सन् २०१६ मा नेपाल भित्रिने हवाई यात्रुको संख्या १६ लाख ८७ हजार एक सय ४४ मात्रै थियो।

विमानस्थल कार्यालयका अनुसार सन् २०१६ को तुलनामा सन् २०१७ मा नेपालबाट बाहिरिनेको संख्या दुई लाख ५४ हजार नौ सय ९४ र भित्रिनेको संख्या ४२ हजार सात सय ८० ले बढी छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सन् २०१७ मा ३८ लाख आठ हजार पाँच सय १६ यात्रु विश्वका विभिन्न देश पुगेका छन्।

सन् २०१५ मा कुल ३२ लाख १७ एक सय ६२ जना यात्रुले त्रिभुवन विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए भने सन् २०१६ मा बढेर ३५ लाख १० हजार सात सय ४२ पुगेको थियो। निरन्तर बढ्दो हवाई यात्रुको संख्या सन् २०१७ मा ३८ लाख नाघेको विमानस्थल कार्यालयको भनाइ छ।

सन् २०१५ को अप्रिलमा आएको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीका कारण नेपालको पर्यटन क्षेत्र धराशयी हुन पुगेको थियो। सन् २०१५मा नेपाल आउने विदेशी पर्यटकको संख्या पनि साढे पाँच लाखमा झरेको थियो।

विस्तारै लयमा फर्केको नेपालको पर्यटन क्षेत्रमा सुधारसँगै विदेशी पर्यटकको आगमन बढनु नै हवाई यात्रुको संख्या बढ्नु प्रमुख कारण रहेको विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुर बताउँछन्।

नेपाली आकाश हुँदै अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको संख्या पनि ३० भइसकेको छ। यसमा तीनवटा नेपाली वायुसेवा कम्पनी नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयरलाइन्स कम्पनी छन्।

बुद्धले भारतको वनारसमा सातामा दुईवटा उडान भर्दै आएको छ। नेपालको हवाई भाडा विश्वकै महँगो पर्छ। तर, पनि हवाई यात्रा गर्ने यात्रुको संख्या भने बढ्दै गइरहेको छ। पर्यटकीय मुलुक नेपालले आफ्नै पर्याप्त विमान उडाउन नसक्दा भाडादर विश्वकै महँगो पर्न गएको हो।

नेपालबाट अन्तर्राष्ट्रिय उडानमा विदेशी कम्पनीको एकाधिकार रहेकाले ती कम्पनीले मनलाग्दी भाडा असुल्दै आएका छन् र नेपालको पर्यटन व्यवसायका लागि यो दुःखद विषय हो। कुल एक खर्बको कारोबारमा नेपाली विमान कम्पनीले १० प्रतिशत पनि हिस्सा लिन सकेका छैनन्। ९० प्रतिशभन्दा बढी हिस्सा विदेशी एयरलाइन्स कम्पनीकै छ।

उडान संख्या पनि बढ्यो
अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या बढेसँगै त्रिभुवन विमानस्थलमा हुने विमान अवतरण र उडानमा पनि बढोत्तरी भएको छ। सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न देशमा भएको प्रस्थान र अवतरणको उडान संख्या ३३ हजार चार सय ७५ छ। यो संख्या सन् २०१६ मा २७ हजार एक सय १८ मात्रै थियो। सन् २०१६ को तुलनमा सन् २०१७ मा ६ हजार तीन सय ५७ उडान तालिका बढेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलमा बढ्दो मुभमेन्टका कारण उडान तालिका मिलाउनै विमानस्थल कार्यालयलाई सास्ती भएको ठाकुरले बताए। सीमित नौवटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज पार्किङ वेका कारण पनि विमानस्थलको उडान अझै बढ्न नसकेको ठाकुरले बताए।

जति धेरै उडान बढ्दै गएको छ त्यही अनुपातमा विमानस्थल स्तरोन्नति हुन सक्दा विमानस्थलको व्यवस्थापनमा असहज अवस्था सिर्जना भएको उनले बताए। मौसम प्रतिकूलता र पार्किङ वेमा भएको समस्याले कतिपय अवस्थामा भने जहाजलाई आकाशमै होल्ड गर्न पर्ने अवस्था सिर्जना हुने विमानस्थल कार्यालयको भनाइ छ।

दुई वर्षमा अन्तर्राष्ट्रिय हवाई यात्रा गर्ने यात्रुको संख्या
महिना २०१७ २०१६

जनवरी ३१८८३८ २६९८५४

फेब्रुअरी २६६१४३ २६६०४५

मार्च ३५३८६२ ३५२३८०

अप्रिल ३५६२६२ ३०२८९२

मे ३१५३२३ २७६१८४

जून २६२७७१ २६५६६६

जुलाई २७२५६६ २६३६५१

अगस्ट २८९१३४ २८५८३३

सेप्टेम्बर ३१३४३९ २९७४०९

अक्टोबर ३६२५०१ ३३०५६४

नोभेम्बर ३६७३१४ ३३६३०६

डिसेम्बर ३३०९२५ ३३६१९८

जम्मा ३८०८५१६ ३५१०७४२

स्रोतः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय
अन्नपूर्ण पोस्ट बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार