संस्मरण: ज्याकी र जुलियासँग

रातको झन्डै दश बजिसकेको थियो । छोरी ज्याकी र आमा जुलिया मलाई लाजिम्पाटस्थित होटल साँग्रिलाको बाहिरी ढोकासम्म पुर्‍याउन आए । छुटि्नुअघि मैले जुलियालाई नेपाल अनुभव लेख्नु है भनें ।

त्यसअघि त्यही दिन दिउँसो ३ बजेतिर बुद्धिस्ट संगीत र मन्त्रको संयुक्त ध्वनिले बौद्धस्तुपाको उत्तरपटि्टको मुख्य गुम्बाको वातावरण अनौठो थियो । एकसाथ चर्को र मधुरो गरी बजिरहेको ध्वनिको गहिराइमा आगन्तुकहरु हराइरहेका थिए । कोही उदासी भरिएको अनुहार लिएर मौन उभिएका थिए । कोही आँखाभरी आँशु पारिरहेका थिए ।

एक छिनलाई मैले केही दिनदेखि मसँग नेपाल घुमिरहेका डच दम्पतिलाई मात्र बिर्सिनँ, गाइडको रुपमा त्यहाँ आइपुगेको भन्ने पनि बिर्सें । म पनि त्यहाँ अरु असँख्य अपरिचित झै एक भएको थिएँ । तिनै अपरिचितहरुमाझ मैले अनायास ती जर्मन आमाछोरीलाई देखेको थिएँ ।

त्यहाँ धुन र ध्वनि, सुर र संगीत जे बजिरहेको थियो, उनीहरु त्यसैमा लहराइरहेका थिए । आँखा चिम्लेर उनीहरु कुन दुनियाँमा पुगिरहेका थिए ? म भन्न सक्दिन । तर, म भनेे त्यहाँको समग्रताभन्दा उनीहरुतिर केन्दि्रत भइसकेको थिएँ ।

अपरिचित उनीहरुलाई त्यहीँ छाडेर हामी (म र मेरा डच गेस्ट) बौद्धस्तुपा परिक्रमा गर्नतिर लाग्यौं । तर, मेरो मन भने ती जर्मन आमाछोरीकै परिक्रमा गरिरहेको थियो ।

खैरो रंगको पातलो चप्पल र रातो कुर्ता सुरुवाल लगाएका उनीहरुले टाउकोलाई नीलो सलले छोपेको थिए । गुम्बाभित्रको मधुरो उज्यालोमा उनीहरुको अनुहार अझ गाढा उज्यालो देखिएको थियो । आमाभन्दा छोरी उज्याली थिई । छोरीभन्दा आमा झन् उज्याली थिई । अनि फेरि आमाभन्दा … । यसरी यो क्रम दोहोराइरहन मिल्ने उज्याला थिए उनीहरु । उनीहरुलाई जहाँ देखेको थिएँ, त्यहीँ छाडेर हिंडेपछि त्यही उज्यालोले मलाई भित्रभित्रै पछ्याइरहेको थियो ।

एक छिनमा हामी स्तुपाको दक्षिणपट्टी रहेको गोल्डेन आइ रेस्टुरेन्टको छतको टेवलमा पुग्यौं । पहेंलिन सुरु भएको घामको उज्यालोमा बडेमानको स्तुपा निकै मोहक देखिएको थियो । उत्तरपटि्ट पहाडहरु अनेक रंगका देखिएका थिए । सबैभन्दा नजिकका पहाड हरिया, अलि पर नीला, त्यसभन्दा पर काला र सबभन्दा पछाडि सेता हिमालहरु देखिएका थिए ।

तर, हिमालभन्दा पनि सुन्दर क्षण देखें अनायास । जर्मन आमाछोरी संयोगबस् छेउको अर्को टेबलमा आइसकेछन् । त्यसपछि मेरो स्वर एकाएक अलि चर्को हुन थाल्यो । डच दम्पतिसँग मैले प्रकृति, अध्यात्म र जीवनबारे निकै गहिरा कुरा गर्न थालें । उनीहरु त माध्यम मात्र थिए । खासमा म मेरो स्वर ती आमाछोरीलाई सुनाउँदै थिएँ । स्वरमात्र होइन, शब्दहरु । शब्दमात्र होइन, सन्देश पनि ।

उनीहरुलाई मेरो सन्देश थियो, ‘म तिमीहरुसँग निकै आकषिर्त भइसकेको छु । म तिमीहरुसँग बोल्न चाहन्छु । तिमीहरुसँग बोल्न नपाएर मलाई असाध्यै छटपटी भइसकेको छ ।’

म डच दम्पतिलाई भन्दै थिएँ, ‘जीवन संयोगहरुको जमघट हो । तिमीहरु नेपाल आयौ । यो एउटा संयोग हो । मलाई भेट्यौ । यो पनि त्यस्तै अर्कै संयोग हो ।’

डच दम्पति निकै रुचिपूर्वक मेरा कुरा सुन्दै थिए । उनीहरुले रुचिपूर्वक सुनेको वा नसुनेकोमा मलाई कुनै रुचि थिएन । मेरो रुचि त जर्मन आमाछोरीप्रति थियो ।

मेरो प्रयास काम लाग्न थालिसकेछ । मैले उनीहरु बसेको टेबलमा हेरें । उनीहरु मलाई नै हेरिरहेका रहेछन् । म मुसुक्क हाँसिदिएँ । छोरी ज्याकी पनि फिस्स हाँसी । मैले हाई नभनी सुरुमै हात उठाएँ ।
‘हेलो’, हाँसेरै उसले हेलो मात्र भनिन, आफ्नो नाम पनि बताई ।

‘आई एम अशोक’, मैले हतारिएर भनें ।

‘सी इज माई मदर जुलिया’, उसले आफ्नी आमातिर देखाउँदै भनी ।

त्यसपछि मैले उनीहरु आमाछोरी हुन् भनेर थाहा पाएको हुँ । त्यसअघि उनीहरु दिदीबहिनी होलान् भन्ने सोचेको थिएँ ।

‘अघि भन्दै थिएँ नि, जीवन संयोगहरुको जमघट हो’, मैले उनीहरुसँग कुरा अगाडि बढाउने बहाना गरें ।

‘हो, हो । हामी तिम्रो कुरा सुन्दै थियौं । निकै घत लागेको थियो’, जुलियाले भनी ।

‘मेरो स्वर पनि त ठूलै थियो । त्यसैले सुन्यौ । नत्र … ‘, म पनि कुरो अघि बढाउँदै थिएँ ।

‘हो, तिम्रो स्वर ठूलो थियो । तर, त्यसभन्दा बढी शान्ति थियो यहाँ । र, अर्को कुरा तिम्रो कुरा पनि त्यस्तै थियो, जस्तो मलाई मन पर्छ’, जुलिया तत्कालै निकै खुली ।

त्यसपछि हामीले दुईटा टेवललाई जोड्यौं । टेवल जोड्ने अनुमति मात्र होइन, आग्रह गर्ने डच दम्पतिसँगै अब जर्मन आमाछोरी पनि मिसिए । हामीले सँगै कफी पियौं ।

मेरो मन नाचिरहेको थियो ।

उनीहरु तेह्र दिन अगाडि नेपाल आएका रहेछन् । भोलिपल्ट साँझ उनीहरु जर्मनी र्फकदै रहेछन् । विभिन्न देशका अरु थुप्रै मानिस उनीहरुको यो पटकको नेपाल यात्राका सहयात्री रहेछन् ।

‘यसपटक सोचे जस्तो भएन’, उसले थपी, ‘यात्रामा हामी चौध जना छौं । अरु बाह्र जना एक खालका र हामी दुई अर्कै खालका छौं । सायद उनीहरु हामीलाई मन पराउँदैनन् । त्यसभन्दा बढी हामी उनीहरुलाई मन पराउँदैनौं । उनीहरु होटलबाट घुम्ने ठाउँ जान्छन् र केही रहेनछ भन्दै तत्कालै होटल र्फकन्छन् ।’

आमा जुलियाको एक-एक कुरामा सही थापिरहेकी छोरी ज्याकीले थपी, ‘आज हामी दिउँसो चौधै जना भक्तपुर गएका थियौं । आधा घन्टा पनि उनीहरु त्यहाँ अड्न सकेनन् । होटल र्फकने जिद्धी गरे । र, त्यहाँ केही पनि नहेरी हामी सबै होटल फक्र्यौं ।’

‘यो त आजको कुरा भयो । यात्राका सबै दिन झन्डैझन्डै त्यसरी नै समाप्त भयो । पोखरामा त्यस्तै भयो । चितवनमा त्यस्तै भयो । लुम्बिनीमा त्यस्तै भयो’, निराश भए झैं जुलियाले भनी ।

‘त्यसैले हामी होटलमा उनीहरुलाई छाडेर यहाँको आध्यात्मिक शान्तिलाई महसुस गर्न आएका हौं’, बौद्ध आइपुग्नुको कारण उसले बताई ।

‘अब यसपछि होटल र्फकने हो ?’, मैले सोधें ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार