आयात र निर्यातबीच सन्तुलन नहुँदा नेपाल वैदेशिक व्यापारमा ठूलो घाटा व्यहोदै


काठमाडौं । आयात र निर्यातबीच सन्तुलन कायम हुन नसक्दा नेपालको वैदेशिक व्यापारमा ठूलो घाटा देखिएको छ । निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा र आयातमुखी अर्थव्यवस्थाका कारण निर्यातभन्दा आयातको आकार निकै ठूलो छ ।

सरकारले नेपालमा उत्पादन भएका बस्तुको निर्यातका लागि हरेक बर्ष विभिन्न कार्यक्रमहरुको आयोजना गरी रणनीति बनाउँदै आएपनि निर्यातको आकार भने बृद्धि हुन सकेको छैन् ।

सरकारले आयातको तुलनामा निर्यातलाई बढावा दिने गरी रणनीति बनाएपनि पछिल्ला ५ बर्षको तथ्याँकलाई आधार मान्दा निर्यातको अवस्था निकै दयनीय देखिएको छ । सरकारले निर्यातजन्य बस्तुहरुको उत्पादन र निर्यातलाई बढावा दिनका लागि निकासी प्रवद्र्धन केन्द्र स्थापना गरेको पनि एदशक पुगिसकेको छ ।

यस्तै, सरकारले निर्यातमा नगद प्रोत्साहन र भन्सार राजस्व फिर्ताजस्ता कार्यक्रममार्फत निर्यात प्रवद्र्धनमा जोड दिएपनि आशा गरिएअनुसारका निर्यात भने हुन नसकेको नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालबाट ६ दशमलव ४ प्रतिशत मात्रै निर्यात बृद्धि भयो भने १० दशमलव ९ प्रतिशत आयातको वृद्धि रहेको छ ।

पछिल्लो ५ वर्षको तथ्यांकलाई मात्रै हेर्ने हो भने नेपालको निर्यात कुनैपनि वर्ष १ खर्ब पुग्न सकेन् । जहाँ आयात भने प्रत्येक वर्ष ६ खर्बभन्दा माथि रहेको देखिन्छ । ५ वर्षमा नेपालले गरेको आयात सोही अवधिमा भएको निर्यातको तुलनामा करिब १० गुणाले बढी हो ।

नेपालको परम्परागत ब्यापार पद्धति, विश्वबजारमा प्रतिष्पर्धा गर्न नसक्नु, निर्यात प्रोत्साहन रकममा कमी, उद्योगहरुमा विद्युतको आपूर्तिमा समस्या जस्ता कारणले पनि नेपालको निर्यातमा कमी आएको हो ।

छिमेकी राष्ट्र भारतले आफ्ना उत्पादनलाई दुई सातामै तेस्रो मुलुकमा पठाउने गरेपनि नेपाललाई करिब ६ हप्ता लाग्ने गर्दछ । यसमा सरकारले आवश्यक कदम चाल्ने हो भने नेपालको निर्यात दरमा बृद्धि गर्न कुनै समस्या नहुने उद्योगीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार