२० औँ भूकम्प सुरक्षा दिवसको नारा तय

काठमाडौं । यस बर्षको भूकम्प सुरक्षा दिवसको नारा ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने तय गरिएको छ ।

विहीबार गृह मन्त्रालयमा बसेको २० औँ भूकम्प सुरक्षादिवस राष्ट्रिय समितिको बैठकले यो बर्षको नारा र मूल समारोहले गर्ने कार्यक्रम तय गरेको हो ।

गृह सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा बसेको राष्ट्रिय मुल समारोह समितिले माघ २ गते काठमाडौंको बसन्तपुरमा कार्यक्रम गर्ने र सो कार्यक्रमको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने निर्णय भएको छ ।

गृह मन्त्रालयका सह–सचिव कृष्णबहादुर राउतले २० औँ भूकम्प सुरक्षा दिवसमा माघ २ गते विहान ११ बजे न्युरोड भूगोलपार्कमा विगतमा भूकम्पमा परी निधन भएका व्यक्तिहरुको सम्झनामा स्मृतिसभा आयोजना गरिने छ । त्यस्तै काठमाडौंका असन, इन्द्रचोक, नरदेवीलगायतका स्थानहुँदै भूकम्पीय सुरक्षा र्यालीको आयोजना गरिने छ ।

सोही दिन अपरान्ह साढे १ बजे न्युरोड जुद्ध शालिक नजिकै हुने कार्यक्रमलाई प्रधानमन्त्री शेर बहादुर देउवा, मन्त्रीहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

१९९० साल माघ २ गते गएको महाभूकम्पको सम्झना गर्दै भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि प्रतिवद्धता व्यक्त गर्न र भूकम्पीय सुरक्षाका क्षेत्रमा भए गरेका प्रयत्नहरुको लेखाजोखा तथा भावी कार्ययोजना तय गर्ने मुख्य उद्देश्यका साथ २०५५ सालदेखि नेपालले भूकम्प सुरक्षादिवस मनाउँदै आएको छ । गृह मन्त्रालयको नेतृत्वमामनाइने भूकम्प सुरक्षादिवसको सदस्य सचिवको रुपमाभूकम्पप्रविधि राष्ट्रिय समाज – नेपालले काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार