किसानलाई राहतका लागि सिफारिश

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रमा जंगली हात्तीले धानबालीमा पु¥याएको क्षतिको विवरण संकलन गरी राहतका लागि सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयलाई सिफारिश गरेको छ ।

दुई महिना अघि निकुञ्जले यहाँको वेदकोट नगरपालिकाका २५ र शुक्लाफाँटाका चारजना किसानको धानबालीमा जंगली हात्तीले क्षति पु¥याएको भन्दै राहतका लागि वन निर्देशनालयमा पत्राचार गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा एउटा घरसमेत हात्तीले भत्काएको जनाउँदै निकुञ्जले उक्त घटनाको राहतका लागि पनि सिफारिश गरेको छ ।

“जग्गाधनी पुर्जा भएका पीडित किसानको लगत संकलन गरेर राहतका लागि क्षेत्रमा पठाएका छौँ”, ढकालले भन्नुभयो, “लगत पठाएपछि पनि हात्तीले नोक्सान पु¥याएका कारण पीडित निवेदन दिन आइरहेकै छन् ।”

उहाँले सरकारी प्रावधानअनुसार जग्गाधनीपुर्जा भएका किसानको मात्रै निवेदनमाथि कारबाही हुने बताउनुभयो । “निवेदन आउने क्रम जारी छ”, ढकालले भन्नुभयो, “चाँडै बैठकबाट निर्णय गरेर पुनः राहतका लागि योग्य फाइल क्षेत्रमा पठाउँछौँ ।”

क्षेत्रीय वन निर्देशनालयमा सिफारिशसहितको पत्राचार गरिए पनि हालसम्म राहत वितरणका लागि कुनै रकम आएको छैन । निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै कञ्चनपुरमा राष्ट्रिय वनको क्षेत्राधिकार पर्ने ठाउँमा समेत जंगली हात्तीले अन्नबालीमा क्षति पु¥याएको छ ।

जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले गत वर्षका हात्ती पीडित किसानलाई राहत प्रदान गरिएको बताउनुभयो । उहाँले चालु आवमा पनि पीडित किसान राहतका लागि वन कार्यालय आइरहेका बताउनुभयो । गत वर्ष जंगली हात्तीको आक्रमणबाट मृत्यु भएकी एक महिलाका परिवारलाई समेत वनले राहत रकम प्रदान गरेको थियो । गत वर्ष मात्रै डेढ सयभन्दा बढी किसानले वन कार्यालयमा राहतका लागि निवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार