काठमाडौँ । ऐतिहासिक रानीपोखरी वरिपरिका पर्खाल मल्लकालीन शैलीमा नै पुनर्निर्माण गर्न सम्भव भएको विज्ञले बताएका छन् । रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर विवाद उत्पन्न भएपछि गठन गरिएको प्राविधिक तथा विज्ञको समूहले पोखरीका केही भाग उत्खनन गरेर त्यहाँको अवस्थाबारे प्रतिवेदन तयार गर्ने काममा जुटिरहेको छ ।
विज्ञको समूहले पोखरी वरिपरि मल्लकालमा लगाइएको पर्खालको अवस्था र निर्माण शैली पनि पत्ता लगाएको र सोही विधिबाट पोखरीको जीर्णोद्धार सम्भव भएको प्रतिवेदन तयार गरिरहेको समितिका सदस्य स्ट्रक्चर इन्जिनियर सूर्यभक्त साँगाछेले जानकारी दिनुभयो । नौ जना विज्ञ सदस्यको समूहले पोखरीलाई जीर्णोद्धार गर्दा त्यहाँ भएका ऐतिहासिक इनारबारे पनि खोजी गर्दा उपयुक्त हुने सुझाव दिएको थियो ।
काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर विज्ञ समूहलाई अध्ययन गर्न लगाएको थियो । समितिले आगामी सोमबार सम्ममा हाल सम्मको अध्ययनबाट प्राप्त भएका तथ्यको प्रतिवेदन बनाएर महानगरपालिकालाई बुझाउने तयारी गरेको छ ।
विज्ञको अन्तिम प्रतिवेदन आएपछि गलत प्रक्रियाबाट निर्माण भएको कङ्क्रिटको पर्खाल भत्काइने महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले बताउनुभयो । कङ्क्रिटको पर्खाल निर्माणका लागि हालसम्म लाखौँ रुपियाँ खर्च भइसकेको छ । समयमा नै सही तरिका नअपनाउँदा यसरी लाखौँ रुपियाँ नोक्सानी बेहोर्नुपरेको उपप्रमुख खड्कीको भनाइ छ ।
यो खबर आजको गोरखापत्रमा छापिएको छ ।