काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीभित्र सेवा–सुविधामा कमी भई समस्याग्रस्त भएका गुनासाहरु आइरहे पनि सेवाग्राहीहरुको घुइँचो लाग्ने गरेको छ । उक्त अस्पतालमा उपचारमा जाने बिरामीहरुका थुप्रै गुनासाहरु सुनिए पनि सेवा लिन जानेहरुको संख्यामा भने कमी नआएको हो ।
बर्षेनी प्रसूति सेवा लिने सेवाग्राहीहरुको संख्या बढ्दै गइरहेको सो अस्पतालमा चिकित्सकले बिरामीप्रति गर्ने व्यवहार, शौचालय सेवा लगायतका सेवा–सुविधामा धेरै गुनासो आईरहँदा सेवाग्राहीहरुको संख्या भने उतिकै बढिरहेको अनुमान उक्त अस्पतालको वार्षिक रेकर्डले देखाउँछ ।
गत वर्षको तुलनामा यो वर्ष प्रसूतिगृहबाट सेवा लिनेको संख्या झण्डै ८ सयको हाराहारीमा बढेको देखिन्छ । अस्पताल प्रशासनले जनाएअनुसार यहाँबाट दैनिक ६० जना शिशुको जन्म हुने गर्छ भने वार्षिक रुपमा ५५ हजारभन्दा धेरै गर्भवती महिलाहरुले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।
अघिल्लो आर्थिक वर्षभन्दा २०७३/०७४ मा ८ सय ३० बढी शिशुको जन्म भएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार ०७४ मा १८ हजार ९ सय २७ जना शिशुको जन्म भएको थियो भने आ.व २०७२/०७३ मा १८ हजार ९७ शिशुको जन्म भएको थियो । अस्पताल प्रशासनले दिएको तथ्याङकलाई हेर्ने हो भने वार्षिक सेवा लिनेको संख्या बढ्दै गइरहेको देखिन्छ ।
चौबिसै घण्टा ब्यस्त हुने यस अस्पतालमा सेवा सुविधा निकै झन्झटिलो हुने गर्भवती महिलाहरुको गुनासो छ । अस्पतालको आकस्मिक कक्षमा समेत हेलचेक्र्याई हुने गरेको उपचारमा सहभागी महिलाहरुको गुनासो छ ।
आकस्मिक कक्षमा बढी समस्या भएका गर्भवती महिललालाई मात्रै हेर्ने गरेको र नियमित परीक्षणमा आउने अन्य बिरामीहरुलाई बेवास्ता हुने गरेको महिलाहरुको गुनासो सुनिन्छ । ४ सय १५ बेडको यस अस्पतालमा भूकम्पपछि अहिले ३ सय ६५ वेडमात्रै सञ्चालनमा रहेको छ ।
भूकम्पको कारण अस्पतालको ठूलो भवन भत्किँदा अस्पतालमा वेडको समस्या समेत देखिन थालेको छ । यी यावत समस्याहरुको बीचमा पनि उक्त अस्पतालमा सेवा लिने सेवाग्राही महिलाहरुको घुँइचो भने अझै घटेको देखिदैन, वार्षिक तथ्यांकअनुसार सेवाग्राहीहरुको संख्या थप बढिरहेको देखिन्छ ।