सुस्त टेलिकमः मुख्य शहरमा ‘फोरजी’ पुग्न अझै एक वर्ष !

काठमाडौं । नेपाल टेलिकमले काठमाडौं र पोखरामा फोरजी (एलटीई) सेवा सरुवात गरेको एक वर्ष बित्न लाग्यो । टेलिकमभन्दा ५ महिनापछि फोरजी सेवा थालेको निजी सेवा प्रदायक एनसेलले देशभरका १९ शहरमा विस्तार गरीसक्यो । तर, टेलिकम अन्य शहरमा फोर-जी सेवा पुर्‍याउन एक वर्ष लाग्ने बताउँछ ।

टेकिलम तीव्र गतिको इन्टरनेटमा आधारित सेवा विस्तारमा आक्रमक देखिएको छैन । उसको सुस्तताले फोर-जी सेवा लिन आतुर टेलिकमका लाखौं उपभोक्ता थ्री-जीमै सीमित हुनुपर्ने बाध्यतामा छन् ।

सबै मुख्य शहरका एनसेल प्रयोगकर्ताले फोरजी चलाउन पाइसके । तर, सरकारी कम्पनीका सेवाग्राही भने अझै एकवर्षसम्म पनि फोर-जी चलाउनबाट बञ्चित हुने अवस्था छ ।

१० महिनापछि प्रक्रिया सुरु

टेलिकमले सेवा सुरुवात गरेको साढे १० महिनापछि काठमाडौं र पोखराबाहिरका शहरमा फोरजी विस्तार गर्न ‘कोर इक्विपमेन्ट’का लागि टेण्डर आह्वान गरेको छ ।

उसले अझै टावरसम्बद्ध नेटवर्क इक्विपमेन्ट र उपकरण जडानको ठेक्का अझै पनि आह्वान गरेको छैन । टेकिलमकी प्रवक्ता प्रतिभा वैद्य टेलिकमलाई अन्य स्थानमा सेवा लैजान एकवर्ष लाग्ने स्वीकार्छिन् ।

‘अब नेटवर्क इक्विमेन्टको लागि ठेक्का लगाउँछौं,’ प्रवक्ता वैद्यले भनिन्,’अबको एक वर्षभित्र हामी देशका धेरै स्थानमा एलटीई सेवा पुर्‍याउँछौं ।’

टेलिकम फोरजी सेवा विस्तारमा ढिलाई भएको स्वीकार्छ । तर, ऊसँग त्यसको बाहना पनि छ ।

‘हाम्रो खरिद प्रक्रिया निजी कम्पनीको जस्तो सजिलो छैन । हामीले धेरै कागजात मिलाउनुपर्छ,’ वैद्यले भनिन्,’हामी विस्तारको योजनाअनुसार सुरुदेखि नै गृहकार्य गरिरहेका थियौं । बल्ल पहिलो टेण्डर गरेका छौं ।’

अहिले पोखरा र काठमाडौंमा टेलिकमका ५ लाख फोर-जी इन्टरनेट प्रयोगकर्ता छन् । यदि टेलिकमले समयमै सेवा विस्तार गरेको भए यतिबेला यसमा ठूलो प्रयोगर्ताको संख्या थपिने थियो ।

‘ढिलाई शंकास्पद’

फोर-जी तीव्र गतिको डाटा इन्टरनेट भएकाले सेवा विस्तार नभएका शहरहरुमा टेलिकमका सेवाग्राही अझै पनि चासोकासाथ यसलाई कुरिरहेका छन् ।

समयमै सेवा विस्तार गर्न सकेको भए टेलिकमको डाटा उपयोगको दर पनि बढ्ने थियो । त्यसले टेलिकमको नाफामा पनि सकारात्मक प्रभाव छाड्न सक्थ्यो ।

तर, टेकिलमका अधिकारीहरुले फोरजीसेवा विस्तारमा किन ढिलाइ गरे भन्ने प्रश्न भने उब्जिएको छ ।

नेपाल टेलिकमले गत पुस १७ गतेबाट फोरजी सेवा थालेपछि कम्पनीको डाटा खपत बढेको छ । पहिलेको तुलनामा टेलिकमको डाटा खपतदर ७० प्रतिशत बढेको टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार