शीर्ष स्थानको सिटीलाई १५ अंकको अग्रता


एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले वाट्फोर्डलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३ – १ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो ।

वाट्फोर्डका क्रिस्टियन काबासेलेले आत्मघाती गोल गर्दा आन्द्रे ग्रेले एक गोल फर्काएका थिए ।

इत्तिहाद स्टेडियममा स्ट्रलिङले खेलको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा क्रिस्टियनले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सिटीले २ – ० को अग्रता बनायो ।

दोस्रो हाफको ६३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई ३ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ८२ औं मिनेटमा वाट्फोर्डका आन्द्रेले एक गोल फर्काएपनि सिटीले ३ – १ को जित निकाल्यो ।

यो जितसँगै सिटीले लिगमा १५ अंकको अग्रता बनाएको छ । सिजनको १८ औं लिग खेल जितेको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १५ अंकले अग्रता बनाएको हो । सिटीले २२ खेलबाट ६२ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेडको २२ खेलबाट ४७ अंक छ । पराजित वाट्फोर्ड २५ अंकसहित दशौं स्थानमा छ ।

लिग अन्तर्गत नै मंगलबार राति भएको अर्को खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई २ – १ ले पराजित गर्दा वेष्ट ह्याम युनाइटेडले वेष्ट ब्रुमलाई २ – १ ले पराजित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार