बहुजातीय देशमा दुईदलीय भन्दा बहुदलीय प्रणाली ठीक

  डा. महेन्द्र लावती  434 पटक हेरिएको

नेपालको विगतको अस्थिर संसदीय इतिहासले गर्दा भविश्यमा पनि अस्थिरता आउनेछ कि भनेर धेरै नेपालीलाई चिन्ता छ । प्रायः लामो समयसम्मको सम्झना नबोक्ने जनताले अस्थिरता अक्सर गरेर बहुदलीयता -उच्च सार्थक दल या दुईभन्दा बढी दल प्रभावकारी रहने अवस्था) र त्रिशंकु सदनले ल्याएको सम्झनु अस्वाभाविक होइन ।
तर, बहुदलीयता मात्रै अस्थिरताको कारक भएको भए दुईदलीयताले नेपालमा स्थिरता ल्याउनुपर्ने हो । तर, दुईदलीयता भएको समयमा -०४८ र ०५६) पनि अस्थिरताले नेपाललाई सताई बस्यो ।

०४८ सालमा नेपाली कांग्रेसले बहुमत ल्याए पनि कार्यकाल पूरा नगरी ०५१ सालमै मध्यावधि निर्वाचन घोषणा गरेपछि दुई दलीय पद्दतिमा अस्थिरताको शुरुवात भएको थियो । ०५१ सालदेखि ०५६ सालसम्म देशमा पाँचवटा सरकार परिर्वतन भए । ०५६ देखि ०५९ सालसम्म (राजाको हस्तक्षेप अगाडि नै) कांग्रेसको बहुमत हुँदा पनि तीन बर्षमा तीनवटा सरकार (कृष्णप्रसाद भट्टराई, गिरिजा कोइराला र शेरबहादुर देउवा) परिर्बतन भएका थिए । फरक यति मात्र थियो कि त्रिशंकु सदन भएको समयमा -०५१, ०६४ र ०७४) सरकारको आयु सरदरमा लगभग एक बर्ष थियो भने दुई दलीय कालमा (०४८, ०५६) मा एक बर्ष आठ महिना ।

त्यसैले नेपालमा दलीयताका कारणले मात्र अस्थिरता आएको होइन । खास कारक तत्वलाई सम्बोधन गरिएन भने दुई दलीयता होस वा बहुदलीयता, देशलाई अस्थिरताले गाँजिरहनेछ । नेपालमा ब्यापक अस्थिरता हुनको निकट कारण शत्ताका लागि मरिमेट्ने संस्कार हो भने अन्तरनिहित कारण शक्ति केन्द्रीयता हो । गुटबन्दी र अस्थिर गठबन्धन सत्ताका लागि मरिमेट्ने संस्कारका उपज हुन् ।

राजनैतिक शक्ति केन्द्रीयताले कम्तिमा पनि दुई तरिकाले नेता र कार्यकतालाई नेपालमा सत्ताप्रति अधिक लालायित बनाएको छ । एक, सत्तामा भइएन भने नीति, प्रशासन तथा अन्य सवालमा प्रभाव निकै कम वा नगन्य हुने र समाजले पनि कम पत्याउने । दुई, सत्ता बाहिर बसे सत्तासिन दल या गुटले मनपरि गरेर आफनो राजनीति बिताइदिने सम्भावना ।

विधिको शासन कमजोर रहेको देशमा पछिल्लो गतिविधि जुनै दल सत्तामा गए पनि ब्यापक रुपमा भएको छ । यी कारणले नेता तथा कार्यकर्तामा पनि कुनै पनि हालतमा सत्तामा पुग्नै पर्ने चाहना निर्माण भएको हो । यसले एकातिर आफ्नै दलको सरकार बिरुद्ध षडयन्त्र गरेर ढाल्ने प्रबृत्ति शुरु गर्‍यो भने अर्कोतिर रातारात गठबन्धन फेरेर सत्तामा जाने चलन स्वाभाविक जस्तो बनाइदियो ।

बेलायतको प्रभावमा र देखासिकी गरेर बहुमतीय र दुई दलीय द्वन्द्वात्मक लोकतन्त्र उसका उपनिवेश र अन्य अंग्रेजी बोलिने देशहरुमा व्यापक फैलिएकाले त्यस्तो पद्दत्ति उपयुक्त हो भन्ने मनस्थिति नेपालजस्ता देशका नागरिकमा निर्माण भएको हो । गैरअंग्रेजी भाषी लोकतन्त्रहरुको लोकतन्त्र अर्कै प्रकारको छ । अरेण्ड लाईपार्टको प्रभावशाली किताव (२०१२) अनुसार संसारभरिका लामो समयम्म लोकतन्त्र रहेका ३६ देशहरुमध्ये ११ वटा देशमा मात्र दुई दलीयता (२.५ सार्थक दलभन्दा कम) छ । अर्थात ६९.४४ प्रतिशत मजबुत लोकतन्त्रमा बहुदलीयता छ । लोकतन्त्र मजबुत भइसकेकोे इजराइलमा एकपटक सार्थक दल संख्या ८.६८ सम्म पुगेको थियो । त्यस्तै स्वीटजरल्याण्डमा ५.२०, इजराइलमा ५.१८, फिनल्याण्डमा ५.०४, नेदरल्याण्डमा ४.८७, इटालीमा ४.८४, भारतमा ४.७२ र डेनमार्कमा ४.५७ औसत सार्थक दल संख्या थिए । मजबुत लोकतन्त्रहरुमा बहुदलीयता अथवा सार्थक दल संख्या उच्च पाइएको तथ्यांकले लोकतन्त्र सुदृढीकरणमा दुई दलीयताभन्दा बहुदलीयताले सकरात्मक भूमिका खेल्छ भनेर संकेत गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार