चिनियाँ विकासको चौथो चरणः मोर्चाबन्दी बलियो बनाउँदै सी जिनपिङ

  उपेन्द्र पोखरेल  318 पटक हेरिएको

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको १९औं कंग्रेस (महासभा) चल्दै गर्दा क्युबाली कम्युनिस्ट पार्टीले प्रतिक्रिया दिएको थियो, ‘राष्ट्रपति सी जिनपिङ विकासको नौलो अभ्यास गर्दैछन् र यो साँच्चै स्तुत्य छ ।’

आगामी केही दशकका लागि चिनियाँ मोडेलको विकासले संसारलाई ‘सरप्राइज’ दिने क्युबाली कम्युनिस्ट नेता जोसे रामोन बलागुरकै भनाइ चरितार्थ गरे, राष्ट्रपति सीले । संसारलाई चकित पार्दै उनले कम्युनिस्ट पार्टीको शक्ति मात्र आफूमा केन्द्रित बनाएनन्, पाँच वर्षपछि आफ्ना उत्तराधिकारी नतोकेर विकास मोडेलको सफलताका लागि आवश्यक परे शक्तिमा कायम रहने संकेत पनि दिए ।

पाँच वर्षपछि राष्ट्रपति सी सत्तामा रहिरहन्छन् या यसबीचमा उत्तराधिकारी तोकेर अवकाशको बाटो रोज्छन् भन्ने विषय गौण हो । किनभने, विकासको चौथो चरण हाँक्ने चिनियाँ चाहनामा कम्युनिस्ट पार्टीका सबै सदस्यले एकमतले समर्थन जनाएका छन् ।

क्युबाली कम्युनिस्ट नेता बलागुरको भनाइजस्तै राष्ट्रपति सीको कदम प्रभावक्षेत्रको व्यापक विस्तार र अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थितिको उद्देश्यबाट अभिप्रेरित देखिन्छ । मौलिक सिद्धान्तका आधारमा चीन शान्तिपूर्ण सह-अस्तित्वसहितको बहुपक्षीय विश्व चाहन्छ । र, विकास र सहयोगको क्षेत्रलाई व्यापकता दिन चाहन्छ ।

राष्ट्रपति सीले अगाडि सारेको चीनको मौलिक समाजवाद नौलो सिद्धान्त हुँदै होइन । उनी त माओत्से तुङपछिको चीनलाई विकासको चौथो चरणमा अगाडि बढाउन चाहन्छन् । र, त्यो ‘चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा’का रुपमा प्रकट भएको छ ।

यसको अन्तर्य थाहा पाउन इतिहासतिर एक पटक नजर दौडाउनै पर्छ ।

माओत्से तुङले कम्युनिस्ट क्रान्तिको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीन स्थापना गरे । उनीपछिका नेता देङ सियाओ पिङले ‘काइग काइफा’ अर्थात् ‘ओपनिङ अप’को अवधारणा ल्याए । माओ र देङका विचारधारा थिए, ती । देङले खुला बजारमा प्रवेश गर्ने सिद्धान्त प्रतिपादन गरेका थिए ।

सीभन्दा अगाडिका राष्ट्रपतिहरु जियाङ जेमिन र हु जिनताओले पनि आफ्ना अवधारणा नल्याएका होइनन् । यद्यपि, ती विचारधारा थिएनन्, ‘सिग्नेचर’ मुद्दा मात्र थिए ।

जियाङको ‘साङ दाइबियाओ’ले सामाजिक उत्पादनशील शक्तिहरुको स्तर उकास्ने कुरा गथ्र्यो । र, चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउनमा जोड दिन्थ्यो । सीभन्दा ठ्याक्कै अगाडिका राष्ट्रपति हुले वैज्ञानिक विकास (केक्सु फचान गुआन)लाई आफ्नो मुद्दा बनाए ।

उक्त अवधारणामा अगाडि बढेको चीन र त्यहाँका नागरिकको आर्थिक स्थिति राम्रो बन्यो । अब, बाह्य विश्वमा लगानी फैलाउन सक्ने अवस्थितिमा पुगे, चिनियाँ नागरिक ।

‘वान बेल्ट वान रोड’ (ओबीओआर)को फराकिलो विश्व व्यवस्थामा प्रवेश गर्ने राष्ट्रपति सीको महत्वाकांक्षाका ती खम्बा थिए, देङ, जियाङ र हुले अगाडि सारेका विकासका सफलतम मुद्दा ।

चीनको आन्तरिक विकास मजबुत बन्यो । ओबीओआरमार्फत् बाह्य विश्वमा पकड जमाउने चिनियाँ चाहना प्रकट भयो । तर, राष्ट्रपति सी त्यसलाई सिग्नेचर मुद्दामै सीमित राखेर मुलुकलाई खुम्च्याउन चाहँदैनथे ।

धेरै विश्लेषकको आकलन थियो, उनी सिग्नेचर मुद्दा स्थापित गराएर शासनबाट विदा हुनेछन् । तर, त्यसविपरित उनले सिद्धान्त नै प्रतिपादन गरे, चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा ।

कम्युनिस्ट पार्टीहरुको अभ्यास नै छ, जसको सिद्धान्त उसैको नेतृत्व । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवका रुपमा सी जिनपिङले गरेको ठ्याक्कै यही हो । तर, उनको सिद्धान्तले आगामी केही दशक चीनको नेतृत्व गर्ने निश्चित छ । किनभने, फेरि अर्को सिद्धान्तबाटै राष्ट्रपति सीको विचारधारालाई विकसित बनाउनुपर्ने कम्युनिस्ट शैली चीनले आगामी केही दशकसम्म कायम राख्ने कुरामा कुनै द्विविधा छैन ।

क्युबाली कम्युनिस्ट नेता बलागुरको भनाइलाई यहाँनेर जस्ताको तस्तै सापटी लिँदा अन्यथा नहोला । उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीप्रतिको विश्वास चिनियाँ जनतामा अझ बढेको छ । किनभने, कम्युनिस्ट पार्टीले सामाजिक समस्या सम्बोधन गर्न तथा तिनलाई ठूलो महत्व दिन आफूलाई केन्दि्रत बनाएको छ ।’

चीनमा क्युबाको सफलता/असफलताका उदाहरणलाई महत्वका साथ हेरिने गर्छ । शास्त्रीय वामपन्थ अपनाएका दुवै मुलुकका सामु रहेका अन्तर्राष्ट्रिय चुनौती लगभग एकै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार