रक्तसञ्चार केन्द्र निमार्णमा जुटे जिल्लावासी

गोरखा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार केन्द्र स्थापना गर्ने भएको छ । बेल्जियम रेडक्रसको सहयोगमा शाखाले रक्तसञ्चार केन्द्र स्थापनाको तयारी सुरु गरेको हो । यसअघि २०६६ साल भदौ १९ गतेदेखि जिल्लामा आकस्मिक रक्तसञ्चार केन्द्रको स्थापना गरी सेवा पुर्याउँदै आएको सोसाइटीले बेल्जियम रेडक्रसले ग्याप नामक संस्थामार्फत प्राप्त सहयोग सामाग्रीमार्फत केन्द्र स्थापनाको कामलाई अघि बढाउन थालेको छ ।

सोमबार आयोजित रक्तसञ्चार केन्द्र स्थापना सम्बन्धि समन्वयात्मक छलफल कार्यक्रममा सरोकारवालाहरुले त्यसको आवश्यकता र तयारीबारे छलफल गरेका थिए । छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी,नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, गोरखा–उद्योग वाणिज्य संघ, गोरखा जिल्ला अस्पताल,जिल्ला शिक्षा अधिकारी, रोटरी तथा रोट्याक क्लब, गोरखा जेसिस, नेपाल पत्रकार महासंघ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष श्रवण जोशीले प्रसुति,सवारी दुर्घटना, अप्रेशनका बिरामीहरुका लागि जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा विरामी बाहिर पठाउनु परेको भन्दै केन्द्र स्थापनामा ढिलाई गर्न नहुनेमा जोड दिए । केन्द्रीय रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत सञ्जिवकुमार यादव, लेखा अधिकृत ईश्वरी पन्त, भूकम्प प्रतिकार्य कार्यक्रमका गोरखा जिल्ला प्रमुख शिव सुवेदी लगायतले गोरखामा स्थापना हुन रक्तसञ्चार केन्द्रका बारेमा जानकारी दिएका थिए ।

रेडक्रस शाखाका मन्त्री राजेन्द्र न्यौपानेले केन्द्र स्थापनाका लागि दाताबाट प्राप्त सामग्रीलाई कहाँ व्यवस्थापन गर्ने भन्ने बारेमा रेडक्रसको आफ्नै रक्तसञ्चार केन्द्र भवन नबन्दासम्म गोरखा जिल्ला अस्पताल नजिकै रहेको जिल्ला शिक्षा कार्यालय गोरखाको खाली भवनमा राख्ने सहमति भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार