आज पौष शुक्ल पूर्णिमा,श्री स्वस्थानी ब्रत सुरु,शालीनदीमा विशेष मेला

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी ब्रत आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर स्वस्थानी ब्रतको सुरुवात गरिन्छ । एक महिना स्वस्थानी ब्रतसंगै माघ स्नान समेत गरिन्छ । नेपाली महिलाहरुले लिने कठिन ब्रत मध्येको स्वस्थानी ब्रत आजबाट शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्ने यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी ब्रत बसेको र चिताएको सबै पुरा भएको जनविश्वासको आधारमा स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन समेत रहेको छ । विशेष गरि महिलाहरू ब्रतालु हुने यो ब्रत बस्नाले ब्रतकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नुका साथै घरघर वा समुहमा बसेर स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति गौरीघाट, गुहेश्वरी, लगायत विभिन्न धार्मिकस्थल तथा शिवको मन्दिरमा लाखौं श्रद्धालु भक्तजनहरूको घुइँचो नै लाग्ने गर्दछ । यसब्रतमा अष्टमात्री वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही,इन्द्राणी,चामुण्डा,र महाकालीको स्थापना र पूजा गर्ने समेत चलन रहेको छ । अष्टमात्रिका र स्वस्थानी माताको पूजामा आचमन, पाद्य, पंचामृत, चन्दन, धूप, दिप, नैबेद्य, बस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रब्य , सेलरोटी, हलुवा इत्यादीले गर्नु पर्दछ । ब्रतको माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइने समेत चलन रहेको छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने ब्रत विधि रहेको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार