मुला उत्पादनमा वृद्धि

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३, को मझुवा, सिलौटी, डोजरडाँडा, सिम्ले क्षेत्रमा मुलाको उत्पादन वृद्धि भएको छ।

यहाँका कृषकले व्यावसायिकरुपमै मुला खेती गर्न थालेकाले गत वर्षभन्दा यसपालि ५० प्रतिशतभन्दा बढी मुला उत्पादन भएको किसानले बताएका छन् ।

अर्गानिक मुलाले राम्रो बजार पाउँदै गएपछि यसको खेतीमा किसानको आकर्षण बढेको हो । यहाँ फलेको मुला पोहोर २०० गाडी निर्यात भएकामा यो वर्ष ४०० गाडी निर्यात भएको छ ।

चार सय गाडीबाट एक हजार मेट्रिक टनसम्म मुला बिक्री भएको स्थानीय व्यापारी मचिन्द्र सुनुवार मुखियाले सुनाउनुभयो । उहाँले भन्नुभयो, “मुला प्रतिकिलो रु १५ देखि १९ सम्ममा बिक्दा रु एक करोड ८० लाख बढी आम्दानी भएकोे छ ।”

यहाँ उत्पादित मुला फिदिमको शनिबारे बजार, इलामको पशुपतिनगर, झापा, विराटनगर, भारतको सिलगुडीसम्म पुग्ने सम्बद्ध व्यापारी बताउँछन् । यस क्षेत्रमा पाँच वर्षअघिदेखि थालिएको मुला खेतीले राम्रो बजार पाउँदा अहिले यसको बिस्तार भएको हो । मेची राजमार्ग आसपासका मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेका १५० भन्दा बढी परिवारका किसानले आलुपछि राम्रो आम्दानीको स्रोतका रुपमा मुला रोप्ने गरेका हुन् ।

मुला खेती थालेदेखि परिश्रमको फल छिटो खान चाहे मुलै रोप्नु पर्दोरहेछ भन्ने ज्ञानसमेत मिलेको सुस्मिता सुनुवारले सुनाउनुभयो । मुला रोपेको दुई महिनाभित्रमा फलेर विकी सक्ने, सिँचाइको आवश्यकता नपर्ने र फुर्फुराउँदो माटो रहेको ओसिलो स्थान राम्रो हुने हुँदा मझुवा, सिलौटी, डोजरडाँडा, सिम्लेमा मुला फस्टाउने गरेको छ । मुला रोपेपछि सामान्य गोडमेलबाहेक अरु झन्झट गरिरहनु नपर्ने हुनाले यसलाई सरल खेती मानिन्छ । सजिलो खेती भएका कारण यसप्रति प्रायः गृहिणी महिलाको बढी लगाव रहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार