३० भाद्र, काठमाडौं ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरिएको छ।
सोमबार बसेको मन्त्री परिषदको बैठकले पूर्व अर्थमन्त्रीलाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार मन्त्री स्तरीय सुविधा पाउने गरी नियुक्त गर्ने निर्णय समेत गरिएको उनले बताए ।
राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।
सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले केहि समय अघि मात्र मन्त्री पदबाट राजीनामा दिएका थिए ।