२६ साउन,चितवन ।
भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्।
तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा बढी देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने निर्णय गरेका थिए।
सोमबार विहान करिब ९ बजे शल्यक्रियामार्फत बच्चा (छोरी) लाई जन्म दिएको अस्पतालका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. वसन्त शर्माले जानकारी दिए।
डा. शर्माकाअनुसार भिडियो एक्स–रे गर्दा साढे ४ किलो भन्दा बढी तौलको बच्चा देखिए शल्यक्रिया गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहेकाले शल्यक्रिया गरेको बताए ।
यी महिलाको भने वंशाणुगत तथा शारीरिक अवस्थाका कारण ठूलो बच्चा जन्मिएको उनको भनाइ छ। उनको तौल ११० किलो र उचाई ५ दशमलव ६ फिट छ।
तेस्रो सन्तानको जन्म दिएकी सिताको पहिलो बच्चा ११ वर्षका छन्। उनी जन्मिदा ४ किलो १ सय ग्रामका थिए। दोस्रो बच्चा ४ किलो ९ सय ग्रामको जन्मिए। अघिल्ला दुवै बच्चा अपरेशन नगरी जन्मिएका थिए।
अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था समान्या रहेको छ।