पहिलोपटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ सुरु गरिने


भक्तपुर । नेपालमा पहिलोपटक ‘बृहत् राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण’ सुरु गरिने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले आगामी जनवरीदेखि सुरु गर्न लागेको सो सर्वेक्षणले देशभरका नयाँ र पुराना क्षयरोगीको अवस्थाबारे जानकारी लिनसक्ने केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले बताए ।
उनले भने “देशभरका हिमाल, पहाड र तराईलाई समेट्ने गरी ५५ जिल्लाका ९९ वटा क्लस्टर छुट्याई करिब ५७ हजार ६१० जनाको प्रत्यक्ष घरमै पुगेर अत्याधुनिक डिजिटल प्रविधिद्वारा रोग निदान र परीक्षणको माध्यमबाट क्षयरोगको वास्तविक अवस्था आकलन गरिने सर्वेक्षणका लागि पूर्वतयारी प्रशिक्षण कार्य सम्पन्न भएको छ । ”
केन्द्रका योजना प्रमुख अनिल थापाले नेपालमा प्रतिवर्ष ४४ हजार नयाँ क्षयरोगी भएको तथ्याङ्क छ तर मुलुकमा ५८ देखि ६० हजारको सङ्ख्यामा क्षयरोगी हुनसक्ने आकलन रहेको जानकारी दिए।
यस वर्ष मात्रै ४४ हजार नयाँ क्षयरोगी थपिए पनि दुई हजार ५५७ जना मात्रै दर्तामा रहेको जानकारी दिँदै उनले जनवरीदेखि भक्तपुर, सिन्धुली, दोलखाबाट पाइलटिङका रूपमा सर्वे सुरु गर्न लागेको जानकारी दिए। प्रमुख थापाले भन्नुभयो, “जनवरीबाट तीन जिल्लामा पाइलटिङका रूपमा सुरु हुने सर्वे थप ५५ जिल्लामा गरी कुल ५८ जिल्लामा हुनेछ, यसमा करिब ६० हजारको छातीको एक्सरे, खकार लगायतको परीक्षण हुनेछ । ”
यसबाट नेपालमा क्षयरोगको अवस्था कस्तो छ, बिरामी निको हुने दर कस्तो छ, नयाँ बिरामी थपिने दर कस्तो छ, नयाँ र पुराना क्षयरोगी कति छन् लगायतका क्षयरोगको अवस्थाबारे जानकारी लिन सकिने दाबी उनकोे छ ।
दामियन फाउन्डेसन नेपालका प्रतिनिधि डा। सुशील कोइरालाले नेपालमा सुरु भएको छोटो अवधिको उपचार विधि र सर्वेक्षण क्षयरोग उन्मूलनमा सफलसिद्ध हुने दाबी गरे ।
राष्ट्रिय क्षयरोग कार्यक्रमले अल्पकालीन र दीर्घकालीन रूपमा रणनीतिक योजना बनाएर कार्य गर्ने गरेको बताउँदै केन्द्रका निर्देशक केसीले समस्या पहिचान गरेर सोको समाधान गर्ने गरी प्राथमिकता क्षेत्र निर्धारण गरी सन् २०१६ देखि २०२१ सम्मको राष्ट्रिय रणनीतिक योजना तयार पारेर कार्यान्वयन भइरहेको बताए।
त्यसैगरी राष्ट्रिय क्षयरोग कार्यक्रममार्फत सन् २०५० सम्ममा नेपाललाई क्षयरोगमुक्त देश बनाउने लक्ष्य लिएको नेपाल सरकारले फोक्सोका क्षयरोगका बिरामीका लागि छोटो अवधिको उपचारविधि सुरु गरेको छ । केन्द्रका निर्देशक डा। केसीले क्षयरोगीका लागि छोटो अवधिको उपचारविधि सुरु गरेको जानकारी दिए।
केन्द्रले फोक्सोको क्षयरोगीका लागि नौमहिने विशेष उपचार विधि काठमाडौँ, विराटनगर, बुटवल र नेपालगन्जबाट सुरु गरेको बताउँदै यसका लागि आवश्यक पर्ने सबै औषधि दामियन फाउन्डेसन बेल्जियमले राष्ट्रिय क्षयरोग केन्द्रलाई उपलब्ध गराएको छ ।
हाल भइरहेको उपचारविधिमा आठ महिनादेखि १२ महिनासम्म सुईसमेत लिएर औषधि सेवन गरी उपचार गर्नुपर्नेमा अब सुरु हुने उपचारविधिमा चार महिनादेखि छ महिनासम्म सुई मात्र लिए पुग्ने र नौ महिना औषधि खाए क्षयरोग निको हुनेछ । निर्देशक केसीले चालू आव ०७४÷०७५ को अन्त्यसम्म नौमहिने छोटो उपचारविधि सेवा विस्तार गर्दै लैजाने बताए। अस्पतालका छातीरोग विशेषज्ञ डा. मोहनकुमार प्रसाईंले सन् २०१६ मा विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त भइसकेकाले नेपालमा यो उपचार विधि सुरु गरेको जानकारी दिए । हाल विश्वका ३८ वटा देशमा सञ्चालन भइरहेको नौमहिने छोटो उपचारविधि नेपालमा पनि सुरु भएको भन्दै उनले यसको प्रभाव र परिणामको दर करिब ८५ प्रतिशत रहेको उनको भनाइ छ ।
नेपालमा सन् २००५ ९२०६२० देखि बहुऔषधि प्रतिरोधी क्षयरोगको उपचारविधि भक्तपुर, पोखरा, विराटनगर, नेपालगन्ज र कञ्चनपुरमा नमुनाका रूपमा सुरु भई हाल १८ वटा उपचार केन्द्र र ८६ वटा उपकेन्द्रबाट वार्षिक करिब ४५० जना बहुऔषधि प्रतिरोधी क्षयरोगीको उपचार भइरहेको छ ।
यो उपचारविधिमा धेरै औषधिको मिश्रण गरी २० देखि २४ महिनासम्म निरन्तर औषधि सेवन गरी सुईमार्फत समेत औषधि लिएर उपचार गर्नु पथ्र्यो । यसबाट औषधिको नकारात्मक प्रभाव पर्ने, औषधिबाट उत्पन्न हुने विषाक्तले समस्या पार्ने, बिरामीलाई उपचार केन्द्रसम्म आवतजावत गर्न समस्या पर्ने हुँदा पनि यस उपचार विधिको सफलता दर ७० प्रतिशत रहेको थियो ।
यद्यपि बिरामी र परिवारले भोग्नु परेको कठिनाइलाई ध्यान दिँदै सरकारले नौमहिने उपचारविधि सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार