दोलखा । राजनीतिमा जे पनि सम्भव हुन्छ त्यसै भनिएको होइन रहेछ । दोलखाको जुगुमा मंगलबार यस्तै दृष्य देखियो । जो विरुद्ध आफ्नो छोराको हत्या गरेको अभियोग लगाएर किटानी जाहेरी दिए उसैलाई भोट दिन्छु भन्दै सँगै मन्चमा बसे गोरे तामाङ । जुँगु हत्याकाण्डका घाइतेले चुनावीसभाको अध्यक्षता गरे, ‘अभियुक्तहरु’ले पीडित परिवारका सदस्यसँगै बसेर फोटो खिचे ।
करीव ५ महिनाअघि स्थानीय तहको निर्वाचनका क्रममा एमाले कार्यकर्ता कुलवहादुर तामाङ माओवादीसँग भएको झडपमा मारिए । पीडित परिवारले माओवादी नेता विशाल खड्का, देवी खड्का, गंगा कार्की लगायत ३९ जनाविरुद्ध ज्यान मुद्दा हाले ।
एमालेले माओवादीबाट कुलवहादुरको हत्या भएको भन्दै ठूलो चुनावी मुद्दा बनायो भने माओवादी नेताहरु भूमिगत भए । चुनाव एमालेले जित्यो, मुद्दा अदालतमै बिचाराधीन छ ।
पहिलो चरणको स्थानीय तह चुनावको चार दिनअघि भएको जुँगुकाण्डले देशभर चर्चा पाएको थियो । कुलवहादुर तामाङको शवसहित एमालेले दोलखामा आन्दोलन मात्र गरेन, माओवादी त्यहि काण्डले रक्षात्मक बन्यो । कांग्रेस माओवादी गठबन्धन बन्दा समेत दोलखामा एमालेलाई जित्न सकेनन् ।
जसलाई सिध्याउन खोजियो,उसैलाई भोट माग्दै
उसै पनि न्यानो सम्बन्ध नभएका दोलखाका एमाले र माओवादीलाई जुँगुकाण्डले पानी बाराबारको अवस्थामा पुर्यायो । एमाले नेता पार्वत गुरुङमाथि आक्रमणको धम्की आयो । तर, राजनीति सबै सम्भावनाहरुको खेल रहेछ ।
पार्वतको नाम सुन्न नचाहने र भौतिक रुपमै सिध्याउनुपर्छ भन्ने माओवादी नेताहरु प्रतिनिधिसभा सदस्यमा पार्वत जिताउन हिँडेका छन् । त्यस्तै जुँगुकाण्डका मुख्य योजनाकार भनेर आरोपित गरिएका माओवादी नेता बिशाल खड्कालाई प्रदेशसभा सदस्य जिताउन एमाले नेता कार्यकर्ता खटिएका छन् ।
पीडित परिवारको घरमै पुगेर माफी मागे
नेता मिले पनि जुँगुकाण्डको घाउ कसरी निको होला ? कुलवहादुर तामाङका पीडित परिवारलाई के जवाफ देलान् ? चरिकोटमा एमाले माओवादी गठबन्धनप्रति प्रश्न उठिरहेका थिए । तर, दुवै पार्टीका नेताहरु जुँगु पुगेर कुलवहादुरकै परिवारलाई कन्भिन्स गरे । उनीहरुले पीडित परिवारसँग माफी मागे ।