नेपालमा कोरोनाका कारण थप ३ जनाको मृत्यु

  झझल्को न्युज डेस्क  284 पटक हेरिएको

१२ श्रावण, काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण पर्साको वीरगन्ज, जनकपुरको शहीदनगर, बाराको फेटाका गरी ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

पर्साको वीरगन्ज महानगरपालिका–१० निवासी ६५ वर्षीय पुरुषको आइतबार कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रवक्ता गौतमका अनुसार भारतका स्थायी बासिन्दा उनको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेह र मुटुसम्बन्धी रोगबाट ग्रसित थिए ।

यस्तै, धनुषाको शहीदनगर नगरपालिका–८ डुमरिया निवासी ३६ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको पनि आइतबार मृत्यु भएको हो ।

ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सीमा भर्ना भएका उनलाई थप उपचारका लागि आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

थप उपचारका लागि धरान लैजाने क्रममा आइतबार बाटोमै उनको मृत्यु भएको हो ।

बाराको फेटा गाउँपालिका–३ निवासी ६० वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनको साउन १२ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा मृत्यु भएको हो ।

उनी निमोनिया, मस्तिस्कघात र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित रहेका जनाइएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । भने कोरोना भाइरसका कूल संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार