प्रचण्डलाई परिबन्दमा पारी शीतलनिवास कस्ले पुर्‍यायो ?

  झझल्को सम्वाददाता  889 पटक हेरिएको

४ साउन, काठमाडौं ।
आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले बताएका छन् ।

आइतबार बिहान खुमलटारमा भेला भएका नेताहरुसँग प्रचण्डले आफुलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको र मलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ भन्ने महसुस भएको बताएका हुन् ।

सबैले प्रचण्डलाई नै सोधिरहेका थिए, ‘तपाई र केपी ओलीबीच सहमति भएको हो ? मंसिरमा महाधिवेशन गर्न सम्भव छ त ? राष्ट्रपतिलाई भेट्न रातारात शीतलनिवास किन जानुभएको ?’

जवाफमा प्रचण्डले आफू केपी ओलीतिर नलागेको स्पष्टीकरण दिए । साथै प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले आफूलाई परिवन्दमा पारेर शीतलनिवासमा पुर्‍याएको र फसाउन गर्न खोजेको प्रचण्डले गुनासो पोखे ।

राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस हुनासाथ आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएर सहमतिको भ्रममा नपर्न भनिसकेको प्रचण्डले स्पष्टीकरण दिए ।

गंगा दाहालले फेसबुक स्टाटसमा भनेकी थिईन – ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

शनिबार सचिवालयको बैठकअघि ओलीले महाधिवशेनको प्रस्ताव बैठकमा लैजान्छु भनेर जानकारी दिएको सुनाउँदै प्रचण्डले भने, ‘हिजोको बैठकमा सो प्रस्तावको आलोचना गर्न नसक्नु र नरमरुपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो । तर, म तपाईहरुको साथमै छु, ढुक्क हुनोस्, ओलीजीसँग कुनै सहमति गरेको छैन ।’

मंसिरमा अर्ली महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएका नेकपा अध्यक्ष प्रचण्ड १२ घण्टा नबित्दै पछि हटेको ओली पक्षका नेताहरुको आरोप छ ।

उनीहरुको दाबी के छ भने विष्णु पौडेल र जनार्दन शर्माले ओली र प्रचण्डवीच सहमतिको मस्यौदा नै तयार पारिसकेका थिए । शीतलनिवासमा त्यो सहमतिमा प्रचण्डलाई मनाउने तयारी थियो, तर उनी सहमति नगरी फर्किए ।

यसअघि पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा हस्ताक्षर गर्दा विष्णु पौडेल र जनार्दन शर्मा नै साक्षी बसेका थिए । अहिले केपी ओलीले त्यो लिखित सम्झौता अस्वीकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार