आक्रमणमा उत्रिए विप्लव : प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक कारबाही अघि बढाउन पार्टी पङ्क्तिलाई दियो यस्तो कडा निर्देशन

  झझल्को सम्वाददाता  828 पटक हेरिएको

२ असार,काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टी पङ्क्तिलाई प्रतिरक्षात्मक तथा प्रतिरोधात्मक करबाही सञ्चालन गर्न विशेष निर्देशन दिएका छन् ।

सरकारले पार्टी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, पार्टी सेती–महाकाली ब्युरो सदस्य तथा महिला केन्द्रीय सदस्य पूर्णिमा धामी र मेची—कोसी ब्युरो सदस्य जोखिमलाई गिरफ्तार गरेपछि नेकपा आक्रोशित बनेको छ । सरकारले विभिन्न सम्पर्कस्रोतमार्फत पटकपटक भेटघाट र छलफल गर्दै फेरि गिरफ्तार गर्ने कार्य जारी राखेपछि आक्रोश व्यक्त गर्दै महासचिव विप्लवले आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका हुन् ।

महासचिव विप्लवले विज्ञप्ति जारी गरी पुन, धामी र जोखिमलाई बिनासर्त रिहाइको माग गर्दै सरकारी चालबाजीको भ्रममा नपर्न पार्टी पङ्क्तिलाई निर्देशन पनि दिएका छन् । नेकपाले कोरोना महामारीबाट जनता आक्रान्त भएकाले सङ्क्रमण अन्त्य नभएसम्म प्रतिरोधात्मक कारबाही स्थगन गरेको थियो ।

राष्ट्रको स्वाधीतना र जनताको अधिकारका लागि लडिरहेको आफ्नो पार्टीमाथि गरिएको दमनको भत्र्सना गर्दै महासचिव विप्लवले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने र वार्ता–भेटघाटका लागि प्रचार गर्ने तर पछि गिरफ्तार गर्ने कार्य गरेको भन्दै मानवअधिकारवादी, कानुनविद् र बुद्धिजीवीहरूलाई विशेष ध्यान दिन आग्रह पनि गरेका छन् ।

महासचिव विप्लवद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक फासिवादी सरकारले एकातिर विभिन्न माध्यमबाट सम्पर्क गर्ने, वार्ता र भेटघाटका प्रचार गर्ने अर्कोतिर जिम्मेवार कमरेडहरूलाई गिरफ्तार गरिरहेकाले उसका चालबाजीप्रति एकरत्ति भ्रममा नपरेर फासिवादी दमनविरुद्ध सङ्घर्षलाई सशक्त बनाउन, पार्टी र क्रान्तिका कामहरूलाई सञ्चालन गर्न र आवश्यकताअनुसार प्रतिरक्षात्मक एवम् प्रतिरोधात्मक कारबाहीहरू सञ्चालन गर्न सबै पार्टीपङ्क्तिलाई विशेष निर्देशन गर्दछौँ ।’

नेकपाका नेता ओमप्रकाश पुन र पुनकी श्रीमती पूर्णिमा धामीलाई प्रहरीले बुधबार कैलालीबाट गिरफ्तार गरेको थियो । बिरामी भेट्न आफन्तकोमा पुगेको बेला प्रहरीले उनीहरूलाई लखेटीलखेटी गिरफ्तार गरेपछि नेकपा आक्रोशित भएको हो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार