२५ असार,काठमाडौँ ।
विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द लगाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो।
विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतस्फुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन्।
वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताउनुभयो ।
भारतीय टेलिभिजन च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्दै आएका छन् ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा तथा चिनियाँ राजदूत होउ कान्छीको नाम जोडेर आपत्तिजनक समाचारहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताउनुभयो ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय र त्यसपछि जारी नै गरेपछि भारतीय सञ्चारमाध्यमहरु एकतर्फीरुपमा तथ्यहीन, अनर्गल र कपोलकल्पित समाचारहरु प्रसारण गर्न कम्मरै कसेर लागेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादलाई पनि अतिरञ्जित बनाएर प्रस्तुत गर्दै आएका छन् ।