बाबुरामले रात बिताएको मुसहर बस्तीमा राहत वितरण


बर्दिबास । महोत्तरीको गौशला ७ मनहर्वाको मुसहर बस्तीमा छत्रपार्टी निशुल्क चिकित्सालय काठमाण्डौंले शुक्रबार न्यानो कपडा वितरण गरेको छ । बस्तीका ९१ घरपरिवारका ३ सय जना लाई जाडोमा लगाउने कपडा र प्रत्येक घरलाई ओढ्ने ब्लाङकेट, ओछ्याउने म्याट र एक बोरा चामल गरी ८ लाख ५० हजार बराबरको राहत सामाग्री वितरण गरेको हो ।

चिसो मौसममा अति नै प्रभावित हुने अति विपन्न मुसहर समुदायलाई लक्षित गर्दै संस्थाले गत बर्ष सिराहामा पनि यसरी नै न्यानोका सामाग्री वितरण गरेको संस्थाका अध्यक्ष विजय मालीले बताए ।

राहत वितरणको टोली बस्ती पुग्दा मुसहर निकै खुशी देखिन्थे । परालमाथि बोरा ओछ्याएर र सुकुल ओढेर सुत्नु परिरहेका बेला न्यानो कपडा पाउँदा निकै खुशी लागेको बस्तीकी कौशिला सदाले बताइन् ।

चिसो बढ्न थालेपछि उनीहरू घरभित्रै घुर बाल्ने गर्दछन् । जाडोमा साना बच्चा र वृद्धवृद्धालाई निकै कष्ट हुने गरेको छ । यस संस्थाले अति प्रभावित र विपन्न बस्तीको पहिचान गरी त्यस्ता बस्तीलाई निशुल्क स्वास्थ्य उपचार र राहत वितरण गर्दै आएको छ ।

छत्रपार्टी निशुल्क चिकित्सालय काठमाडौंले न्यानो कपडा वितरण गरेको मनहर्वामा पाँच वर्षअघि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भव्य स्वागत गर्दै ६ हजार ऋण काढेर मुसहरले आफूले खाने घुङीको तरकारी, गँगटाको अचार, ढिकीमा कुटेको चामलको भातलगायत जातीय परिकार खुवाएका थिए ।

देशमा अनेकौं परिवर्तन भए पनि योे बस्तीलाई छुन सकेको छैन । यहाँ आर्थिक, सामाजिक र शैक्षिक प्रगतिमा सुधार आउन सकेको छैन । बस्तीमा स्वच्छ खानेपानी, बिजुलीबत्ती, अशिक्षा, गरिबी लगायतका समस्या यथावत् नै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार