एएफसी यू-१९ च्याम्पियनसिप छनोटमा नेपालले एक गोल पनि गर्न सकेन

काठमाडौं । सन् २०१८ मा हुने एएफसी यू-१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपाली टोली जितबिहीन हुँदै घर फर्किएको छ । त्यो भन्दा निराशाजनक तथ्य त यो छ कि नेपालले छनोट चरणमा चार खेल खेलेर १२ गोल खाँदा एक गोल पनि गर्न सकेन ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार ओमानसँग ५-० गोलको पराजय ब्यहोर्‍यो । एशियाकै शक्तिशाली मध्येको एक मानिने ओमानसँग नेपाली खेलाडीहरु निक्कै कमजोर देखिएका थिए ।

दवावरहित हुनाका बाबजुद ओमानसामू रक्षात्मक देखिएको नेपाली टोलीले पहिलो हाफमा तीन र दोस्रो हाफमा २ गोल खायो ।

खेलको ११औं मिनेटमा ओमानका अल हार्थीले सुरुवती अग्रता दिलाए । ३२औं मिनेटमा अल अलावीले अग्रता दोब्बर बनाउँदा पहिलो हाफको इन्ज्यूरी समयमा अल हार्थीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा ओमानले थप २ गोल गर्‍यो । ५८औं मिनेटमा अल जावीले चौथो र त्यसको एक मिनेटपछि नै अल अलावीले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाचौं गोल गरे ।

पाँच टोली सम्मिलिन छनोट समूह एमा नेपालले कुनैपनि खेल जित्न नसकेको मात्रै हैन गोलसमेत गर्न सकेन । पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग २-० ले हारेको नेपालले दोस्रो खेलको नतिजा बहराइनलाई ४-० ले सुम्पियो । तेस्रो खेलमा युएईलाई १-० मै रोक्न सफल भएपनि अन्तिम खेलमा नेपालले फराकिलो पराजय ब्यहोर्‍यो ।

आफ्नो उमेरसमूहको साफ च्याम्पियन नेपाली टोलीले अन्य एसियाली मुलुकका टोलीहरुसँग भने अपेक्षाकृत प्रदर्शन पनि गर्न सकेन । मुख्यगरी नेपालको रक्षापंक्तिमा कमजोरी देखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार