काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सहरी विकास मन्त्री दिलनाथ गिरीलाई सरकारबाट फिर्ता बोलाएको छ । पार्टी निर्णय अनुसार गिरीलाई फिर्ता बोलाइएको राप्रपाले जनाएको छ । मन्त्री गिरीलाई मन्त्री पदबाट बर्खास्त गर्न राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेको छ । शहरी विकास मन्त्री गिरीले पार्टी अध्यक्ष कमल थापाले मन्त्रिपरिषदबाट आफूलाई कुनै जानकारी नदिई फिर्ता बोलाउनु निरंकुश र असभ्य भएको बताएका छन् ।उपप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष कमल थापा र मन्त्री गिरीबीच सहरी विकास विभागको महानिर्देशक र मन्त्रालयको सचिव हेरफेरको विषयमा विवाद थियो । मन्त्रीवाट फिर्ता भएपनि पार्टी नछाडी आन्तारिक रुपमा संघर्ष गर्ने गिरीले जानकारी दिएका छन् । सहरी विकास मन्त्रालयमा रमेशप्रसाद सिंहलाई सरुवा गर्ने प्रस्ताव राखेको भन्दै अध्यक्ष थापा र गिरीबीच मन्त्रिपरिषद् बैठकमै विवाद भएपछि थापाले उनलाई मन्त्रीवाट फिर्ता गरेका हुन । आफूलाई सल्लाह नगरी सचिव हेरफेर गर्ने प्रस्ताव बैठकमा राखेको भन्दै थापाले गिरीको राजीनामा बिहीबार नै मागेका थिए ।
