काठमाडौं । एक त साँगुरा सडक, त्यसमा पनि सडककै बीचमा विजुलीको खम्बा । सडक विस्तार भएपनि विजुलीको खम्बाहरुको व्यवस्थापन हुन नसक्दा राजधानीका सडक अहिले अस्तव्यस्त बनेका छन । यसले सवारी आवागमनमा अवरोध मात्र खडा गरेको छैन, दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । यो हो काठमाडौको गोंगबु–माछापोखरी सडकखण्ड । दैनिक हजारौं सवारी साधान गुडने यो सडकखण्डको मध्य भागमा ठाडिएका छन यी विजुलीका खम्बा । खम्बामा जोडिएको तारमा ११ हजार भोल्टको विजुली प्रवाह हुने गरेको छ ।
राजधानीको चक्रपथ सडकखण्ड अन्तरगत, कलंकी, बालाजु, गोंगबु, सामाखुशी, कोटेश्वर, सानेपा, बल्खु लगायतका क्षेत्रमा विजुलीका खम्बाहरु विच सडकमा रहेको छ । त्यस्तै चक्रपथको भित्री सडक खण्ड त्रिपुरेश्वर, बानेश्वर, जमल, ज्ञानेश्वर लगायतको क्षेत्रमा पनि सडकमै विजुलीका खम्बाहरु रहेका छन् । गोंगबु–माछा पोखरी सडकखण्ड मात्रै नभई त्रिपुरेश्वर– कालिमाटी, ज्ञानेश्वर–गौसाला लगायत राजधानीका अधिकाँश सडकखण्डको अवस्था यस्तै छ । राजधानीका सडकहरुले विस्तार गरिएपछि अहिले अधिकाँश सडकको अवस्था लगभग यस्तै बनेको छ । हजारौं सवारी साधन गुडने यी सडकहरुको मध्यमा ठाडिएको विजुलीको खम्बाले आवगमनलाई अवरुद्ध माब बनाएको छैन , दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।
सडक विभागका अनुसार अहिले पनि राजधानीका विभिन्न सडक खण्डमा १६ सय ८२ वटा विजुलीका खम्बा सडक मै छन् । यसैगरी ९१ वटा ट्रान्सफरमर, ९ सय ३५ वटा टेलिफोनको खम्बा र २ हजार ८ सय ६८ वटा घर पनि सडकमै रहेको छ । जसले सडक विस्तारको काममा लगातार अवरोध पु¥याई रहेको छ । अत्याधिक सवारी चाप भएको राजधानीका सडकमा चालकको सामान्य गल्तीले ठुृलो क्षति हुने प्रायः निश्चित छ ।
ट्राफिक प्रहरी महाशाखाले पनि सडकको बीचमा रहेका विजुलीको खम्बाले ट्राफिक जामका साथै दुर्घटना पनि बढेको बताएको छ ।सवारी चालकहरुले विजुलीका खम्बा बचाउदै सवारीसाधन चलाउनु पर्ने बाध्यता भएको गुनासो गर्छन । कहिलेकाँही अत्याधिक धुलो धुवाका कारण खम्बाहरु नदेखिने हुँदा दुर्घटना बढदै गएको छ । तर सम्बन्धित निकाय यो समस्यालाई गम्भिरताका साथ लिएको देखिदैन ।