पाकिस्तानमा भएको विमान दुर्घटनामा परेका सबै १०७ जनाको मृत्यु

  झझल्को न्युज डेस्क  253 पटक हेरिएको

९ जेठ,काठमाडौं ।
पाकिस्तानमा भएको विमान दुर्घटनामा परि ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको छ । शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको हो।

मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ७,८ ओटा घर समेत ध्वस्त भएको पनि जानकारी दिनुभएको छ।

क्षति भएको घरमा कोही मानिस थियो कि थिएन वा उनीहरुको मृत्यु भयो कि भएन भन्ने बारेमा पनि विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।

पाकिस्तानी सरकारी स्वामित्वको अन्तर्राष्ट्रिय विमान कम्पनीकोे विमान कराँचीको दक्षिणी नाकामा दुर्घटनाग्रस्त भएको हो। विमान खसेका ठाउँमा बाक्लो बस्ती छ । मोडेल कोलनीका नाममा रहेको सो बस्तीमा विषेश गरेर गरिव समुदायका मानिसहरु बस्ने गर्दथे।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान खस्नु अघि तीन पटक घुमेको थियो । विमानले अवतरण गर्न खोजिरहेको तर नसकेको जस्तो देखिएको उनीहरुले बताए।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै मात्र पुनः सञ्चालनमा आएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार