५ जेठ,काठमाडौँ ।
आर्थर गनले चिनिएका नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता बनेका छन्। अमेरिकन आइडलमा तहल्का मच्चाउदैँ फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन्।
उनी टप ५ मा प्रवेश गर्दै उपविजेता बन्न सफल भएका हुन्। टप ५ मा पुगेसँगै उनले फाइनल राउण्डका लागि प्रतिस्पर्धा गरेका थिए। तर भोट कम भएको हुँदा उनी उपविजेतामा चित्त बुझाउन बाध्य भएका हुन्। सबैभन्दा धेरै भोट ल्याउँदै जस्ट साम अमेरिकन आइडलको विजेता बनिन्।
दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका थिए।
काठमाडौँको रविभवनमा जन्मेका दिवेश उच्च अध्ययनका सिलसिलामा सन् २०१४ मा अमेरिका गएका हुन्। उनी प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए ।
दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।
अमेरिकामा रहेका नेपालीहरुले उनलाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।