इनरुवा । सुनसरीसहित चारैतिर सुन्तलाको सिजन शुरु भएको छ । तर गत वर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लामा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ ।
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान र इटहरी क्षेत्रको बजारमा गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा कृषि उपज बजारस्थल धरानमा एक हजार ५०० मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर यो वर्ष सिजनमा पनि ४०० मेट्रिक टन बराबरको सुन्तला मात्र बिक्री भएको छ ।
बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा कमी आएका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला बजारमा कम आएको भोजपुरका सुन्तला कृषक जितेन्द्र राईले बताउनुभयो ।
गत आव २०७२/७३ मा धरानमा ६ हजार ४९३ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्य मात्र रु ५२ करोडको कारोबार भएको थियो । किसानको बारीमै गएर व्यापारीले फूल फुल्दै गर्दा बोट नै खरिद गर्दछन् । फूल फुले अनुसारको सुन्तला नफल्दा भने व्यापारीलाई घाटा भएको कृषि उपज बजारस्थल धरानका व्यापारी टीकाराम श्रेष्ठले बताउनुभयो ।
उपभोक्ताको माग अनुसारको सुन्तला बजारमा आउन सकेको छैन । पूर्वी पहाडी जिल्लामा गत वर्षको तुलनामा ६० प्रतिशतले कम सुन्तला उत्पादन भएको छ । यसले गर्दा सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य दोब्बर भएको कृषि उपज बजारस्थल, धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताउनुभयो ।
सुन्तला उत्पादनमा कमी आउनाको मुख्य कारण सुन्तलाको बोट मर्नु र फूल लागेको बेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकको पेशा सुरक्षित बन्न सकोस् ।