विद्यार्थी आन्दोलनको चिरफार

जेठ १ नेपाली विद्यार्थी आन्दोलनको ५६ औँ विद्यार्थी दिवस

  मिलन राई  265 पटक हेरिएको


नेपाली विद्यार्थी आन्दोलन क्रान्तिका बाधक शक्ति र गलत प्रवृत्तिका विरुद्ध सङ्घर्ष एवम् आन्दोलनको आँधीबेहरीमा सङ्गठित भएको आन्दोलन हो । नेपालको विद्यार्थी आन्दोलनमा जेठ १ लाई विद्यार्थी एकता र विजयको दिवसका रूपमा विद्यार्थी दिवस मनाउने गरिएको छ । यो जेठ १ नेपाली विद्यार्थी आन्दोलनको ५६ औँ विद्यार्थी दिवस हो ।

विद्यार्थी दिवसको आफ्नै ऐतिहासिक महत्व र सन्दर्भ छ । राजा महेन्द्रले २०१७ साल पुस १ गते राजनीतिक–सैनिक कू गरेर जनताका अधिकारलाई कुण्ठित गरेपछि नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन भूमिगत हुन बाध्य भयो । तत्कालीन निरङ्कुश पञ्चायती सत्ताको दबदबाका बीचमा २०२१ साल वैशाखमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो ।

उक्त सम्मेलनबाट गोर्खा भर्तीकेन्द्र खारेज गर्नुपर्ने, राष्ट्रघाती असमान सन्धिहरूको खारेज गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, बन्दी विद्यार्थीको रिहाइ गर्नुपर्नेलगायत मागसहितको मागपत्र तयार गरी सशक्त सङ्घर्ष सञ्चालन गर्ने निर्णय गर्दै सम्मेलन भव्यताको साथ सम्पन्न भएको खुसीयालीमा विजयभावसहित जेठ १ मा विद्यार्थीको विशाल जुलुस प्रदर्शन भयो तर तत्कालीन निरङ्कुश पञ्चायती सत्ताले विद्यार्थी जुलुसमाथि व्यापक दमन ग¥यो ।

त्यसको प्रतिरोधस्वरूप उपत्यकाव्यापी आमहडताल सुरु भयो । फलस्वरूप स्ववियु खोल्न पाउने अधिकारको बहाली र बन्दी विद्यार्थी रिहाइसहितका अन्य केही माग पूरा गर्न निरङ्कुश पञ्चायती सत्ता बाध्य भयो । यसरी विद्यार्थी एकताको बलमा आन्दोलनको जित भएकाले हरेक वर्ष जेठ १ लाई विद्यार्थीको एकता र विजयको गौरवमय दिवसका रूपमा मनाउँदै आइएको छ ।

विद्यार्थी आन्दोलन

विद्यार्थी आन्दोलनका प्रथम सहिद गङ्गालाल श्रेष्ठको अदम्य साहसपूर्ण सङ्घर्षबाट थालनी भएको विद्यार्थी आन्दोलन २००४ सालको जयतु संस्कृतम पहिलो सङ्गठित आन्दोलन थियो । २००६ सालमा अखिल नेपाल विद्यार्थी फेडेरसन नेपाली विद्यार्थी आन्दोलनको पहिलो सङ्गठन हुँदै निरङ्कुश पञ्चायतविरुद्धको सङ्घर्ष, पहिलो जनआन्दोलन, १० बर्से जनयुद्ध, दोस्रो जनआन्दोलनलगायत विद्यार्थी आन्दोलनले आफूलाई शैक्षिक हकहित र अधिकारको आन्दोलनमा मात्र सीमित नराखेर राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षको सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गरेको विद्यार्थी आन्दोलन विचार, दृष्टिकोण र वर्गीय पक्षधरताका आधारमा विभिन्न नाममा विभक्त छन् । विभाजनको र ध्रुवीकरणको आरोहअवरोह तथा उतारचढाव बेहोरेको आन्दोलनका केही सीमा, कमजोरी अवश्य रहेका छ तर पहल, बलिदानी, सङ्घर्ष र उपलब्धिका हिसाबले मूलतः नेपाली विद्यार्थी आन्दोलनको इतिहास सङ्घर्ष, बलिदान र विजयको गौरवपुर्ण गाथाले भरिएको छ ।

हरेक सङ्घर्ष र आन्दोलनको पहिलो पहलकर्ता एवम् अग्रदस्ता विद्यार्थी आन्दोलनले ५६ औँ विद्यार्थी दिवस मनाउँदैछ तर आजभोलि विद्यार्थी आन्दोलनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । यतिबेला नेपाली विद्यार्थी आन्दोलन आशङ्का, अविश्वास र नैतिक सङ्कटको उत्कर्षमा छ । समग्र विद्यार्थी आन्दोलनलाई हेर्दा स्वरूपमा जीवित छ तर चरित्रमा प्रभावकारी छैन । पार्टीको भ्रातृ सङ्गठनका रूपमा क्रियाशील छ तर प्रतिपक्षी आन्दोलनको भूमिकामा विघटनको सङ्घारमा छ । विद्यार्थी आन्दोलन सङ्घर्षमा ऊर्जावान् छैन, प्रयत्नमा सिर्जनशील छैन । समग्रमा भन्दा विद्यार्थी आन्दोलन आफ्नो एजेन्डा र कार्यक्रममा जीवित छैन ।

कतिपय मान्छेहरू विद्यार्थी आन्दोलनको औचित्य समाप्त भएको र विद्यार्थी सङ्गठन विघटन गर्नुपर्ने जस्ता तर्क पनि गर्न थालेका छन् । त्यस्ता तर्क पूर्वाग्रह र दुराशयपूर्ण छन् । निश्चय पनि नेपाली विद्यार्थी आन्दोलनमा समस्या र कमजोरीहरू देखिएका छन् तर देशको शैक्षिक र राजनीतिक अवस्थालाई हेर्दा विद्यार्थी आन्दोलनको आवश्यकता र औचित्य झन् बढेको छ । तसर्थ विद्यार्थी आन्दोलनको विघटन होइन, नेपाली विद्यार्थी आन्दोलनमा देखिएका समस्याहरूका बारेमा निर्मम छलफल गर्नुपर्ने देखिन्छ ।

समस्याहरू

नेपाली विद्यार्थी आन्दोलनलाई सबैभन्दा बढी लाग्ने आरोप सौदाबाजी र आर्थिक लेनदेनको हो । यसले गर्दा विद्यार्थी आन्दोलन बदनाम भएको छ । विद्यार्थी सङ्गठन कमिसनका लागि मौसमी सङ्घर्ष गर्छ, आर्थिक लेनदेनमा सङ्घर्ष टुङ्ग्याउँछ भन्ने आरोपहरू बारम्बार लाग्ने गरेका छन् । कतिपय विद्यार्थी नेताको बदलिँदो जीवनशैली, विलासी जीवन देख्दा आशङ्काहरू जायज पनि देखिन्छ । विद्यार्थी आन्दोलन शिथिल मात्र होइन, प्रतिपक्षी चरित्रबाट समेत च्यूत भइरहेको छ । आफ्नो पार्टी सरकारमा हँुदा सरकारकै एउटा अङ्गजस्तो बन्ने र सरकारमा नहुँदा प्रतिपक्षी भएझैँ गर्ने अवसरवादी चरित्र ग्रहण गर्न पुगेको छ । राष्ट्रियता, जनजीविका, जनतन्त्र र शैक्षिक आन्दोलनमा विद्यार्थी सङ्गठनहरू विज्ञप्ति सङ्गठनजस्तो मात्र भएका छन् बरु विद्यार्थी सङ्गठनका नेताहरू पार्टी सत्ताको शक्तिमा रहेका नेताको फेरो समाएर आफ्नो नेताले गरेका भ्रष्टाचार, दलाली र राष्ट्रघातको घिनलाग्दो बचाउ गरेर चाकरी गरिरहेका छन् । विद्यार्थी नेताहरू आफ्नो दायित्व बिर्सेर मन्त्रीका पीए बन्ने दौडधुपमा छन् । समग्रमा विद्यार्थी आन्दोलनमा सत्तापक्षीय दास मनोवृत्ति र अवसरवादले गम्भीर रूपमा घर गरेको छ ।

विद्यार्थी सङ्गठनमा नीतिको भन्दा बढी नेतृत्वको र प्रवृत्तिको भन्दा पात्रको बहस हुन थालेको छ । सङ्गठन विधिमा भन्दा व्यक्तिअनुकूल चलाउने प्रवृत्तिको विकास भएको छ । नेतृत्वको निर्माण पार्टी सत्ताको कुनै गुटको शक्तिशाली नेताले टीका लगाइदिएको भरमा टिकट पाउने र उसैको आशीर्वादमा निर्वाचित हुने गरेको देखिन्छ । एउटै सङ्गठनभित्र भिन्न मनोविज्ञानसहितका धेरै सङ्गठन बन्दा विद्यार्थी सङ्गठनहरू आन्तरिक कलहमै रुमलिइरहेका छन् । विद्यार्थी नेताहरूमा, अध्ययनको संस्कृति हराउँदै जानु, सिर्जनशील बन्न नसक्नु, आन्दोलनलाई समयसापेक्ष विकास गर्न नसक्नुलगायत समस्याहरू विद्यार्थी आन्दोलनमा विद्यमान छन् । मूल रूपमा राज्यको चरित्र र जनताको आर्थिक आधार नबदलिई राजनीतिक क्रान्ति सकिएको भ्रम फैलाएर विद्यार्थीमा समन्वयात्मक र सम्झौतापरस्त मानसिकता निर्माण गरिदिएको छ । निगम पुँजीवादको प्रभावस्वरूप विभिन्न नाममा विद्यार्थीलाई खण्डित गरिएको छ । विद्यार्थी आन्दोलनविरुद्ध नकारात्मक प्रचार गरेर विद्यार्थीमा आन्दोलनप्रति नकारात्मक धारणा निर्माण गरिदिएको कारणले पनि विद्यार्थी आन्दोलन कमजोर बन्नुमा भूमिका निर्वाह गरेको छ ।

निष्कर्ष

विद्यार्थी आन्दोलन आफ्नो ऐतिहासिक दायित्व निर्वाह गर्ने सन्दर्भमा कमजोर अवश्य देखिएको छ तर विद्यार्थी आन्दोलनको आफ्नो गौरवशाली विरासत कायम गर्न क्रान्तिकारी धारका विद्यार्थी सङ्गठनहरूले प्रयत्न गरिरहेकै छन् तर पर्याप्त भने भएको छैन । १९९७ मा गङ्गालाल श्रेष्ठको बलिदानीले राजनीतिक अधिकारको सङ्घर्षको धार निर्माण ग¥यो, २००८ मा चिनियाँकाजी श्रेष्ठको बलिदानीले राष्ट्रियताको सङ्घर्षको धार निर्माण ग¥यो । त्यस्तै २०२९ मा कामेश्वर यादव र कुशेश्वर यादवको बलिदानीले शैक्षिक आन्दोलनको धार निर्माण ग¥यो र २०७६ मा प्रज्वल शाहीको बलिदानीले दलाल एवम् निगम पुँजीवादी शिक्षाका विरुद्ध सङ्घर्षको धार निर्माण गरेको छ । तसर्थ सहिदहरूको बलिदानीले निर्माण गरेको धारलाई आत्मसात गर्दै विद्यार्थी आन्दोलनले सङ्घर्षका क्षेत्रमा सम्झौताहीन सङ्र्घष गर्न आवश्यक भएको छ । आन्दोलनको सौदाबाजी गर्ने, निजी शैक्षिक संस्थासँग बार्गेनिङ गरेर चन्दा असुल्ने कार्यलाई निषेध गर्नुपर्दछ । सङ्गठनात्मक क्षेत्रमा विधिमा आधारित सङ्गठनात्मक पद्धति, सङ्घर्षको बीचबाट विद्यार्थीको चरित्र पार नगरेको र नियमित विद्यार्थीबाट नेतृत्वको निर्माण गर्न आवश्यक छ । महिला नेतृत्व विकासका लागि प्रोत्साहित गर्नुपर्दछ । विद्यार्थी आन्दोलन समग्र राजनीतिक आन्दोलनको एउटा मोर्चा भएकाले व्यक्तिको भूमिका निश्चित अवधिका लागि हुनुपर्छ । तसर्थ विद्यार्थी आन्दोलनमा काम गर्ने निश्चित अवधि निर्धारण गर्नु राम्रो हुन्छ । अध्ययन–अनुसन्धानका क्षेत्रमा अध्ययनलाई बढाउँदै विद्यार्थी सङ्गठनको हरेक संरचनामा आलोचनात्मक चेतलाई प्रोत्साहित गर्नुपर्दछ । प्रविधिको विकासलाई आत्मसात गर्दै विद्यार्थी आन्दोलनलाई समयसापेक्ष रूपान्तरण गर्नुपर्दछ । साझा एजेन्डाहरूको खोजी गरेर उठान गर्नुपर्दछ । समग्रमा विद्यार्थी आन्दोलन नैतिकवान् आफ्नो प्रतिपक्षी चरित्रमा दृढ हुन जरुरी छ ।

राष्ट्रियता, जनजीविका र जनतन्त्र खतरामा पर्दा आमजनसमुदायले युवा विद्यार्थीमा अपेक्षा र भरोसा राख्ने गरेको छ । यतिबेला कोरोना महामारीका कारण गरिएको लकडाउनले जनता भोकमरीले मर्ने अवस्था उत्पन्न भएको छ र यसले जनजीविकाको सवाललाई गम्भीर बनाएको छ । नेपालको भूमिमा साम्राज्यवादी भारतले सडक निर्माण गरेर उद्घाटनसमेत गरिसकेको छ । राष्ट्रियता सङ्कटमा छ । राजनीतिक आस्थामाथि प्रतिबन्ध गरिएको छ । भ्रष्टाचारले सीमा नाघेको छ । यसरी हेर्दा जनतन्त्रमा पनि गम्भीर सङ्कट उत्पन्न भएको छ । परिस्थितिले राष्ट्रियता, जनजीविका र जनतन्त्रका लागि विद्यार्थी आन्दोलनको सशक्त भूमिका अनिवार्य हुन आएको छ । परिवर्तनको इच्छाशक्ति सङ्गठनहरूको फरकफरक हुनसक्ला तर राष्ट्रिय सङ्कटको यो घडीमा विद्यार्थी एकता कायम गरेर सङ्घर्षको आँधीबेहरी सिर्जना गर्नु अपरिहार्य आवश्यकता देखिन्छ ।

(लेखक अखिल क्रान्तिकारीका सचिवालय सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार