महाविपत्तिमा हराएका हुम्लाका सांसद छक्कबहादुर लामालाई विद्यार्थी नेता पुरनको खुल्लापत्र

  झझल्को न्युज डेस्क  1321 पटक हेरिएको

माननीय छक्क बहादुर लामा ज्यु
नमस्कार ।
तपाईलाई पत्र लेखिरहँदा सम्म आरामै छु र आरामै हुनुहुन्छ भन्ने कामना गर्दछु । तपाइले राजनीति कहिले र कसरी सुरु गर्नुभो, त्यो अहिले सोध्न र चर्चा गर्ने उत्साह ममा छैन । सुनेको छु यो बिषम परिस्थितिमा पनि तपाईं र स्थानीय सरकार बिच खासै समन्वय भएको छैन ।

सङ्घीय सांसद हराए, प्रदेशका मन्त्री हराए, स्थानीय प्रतिनिधि हराए , दुस्खमा त कहाँ आउँछन् र चुनावमा मात्रै आउँछन्, भन्ने जस्ता केही नकारात्मक टिका टिप्पणीहरु पनि सामाजिक सञ्जालमा भेटिरहेको छु । यसो हुनुमा दुईवटा कारण हुन सक्छ । पहिलो संघ, प्रदेश र स्थानिय तहमा फरक राजनीतिक नेतृत्व हुनु, अर्को स्थानिय तहले एकद्वार प्रणाली अपनाउनु । अन्य समय र सन्दर्भमा यी यस्ता कुराहरुलाई सामान्य रुपमा लिन परेपनि खासै आपत्ति हुने छैन । तर यो जटिल परिस्थितिमा कुनै बाहाना र लुकिछिपिको खेललाई सहन नसकिने रहेछ । भोको पेटलाइ सूर्य र रुखको चिन्हले सन्तुष्टि नदिने रहेछ ।

लकडाउनको समय अवधि लम्बिएसँगै देशका विभिन्न सहरमा भएका हुम्लाका गरिब मजदुरका र बिद्यार्थीका पिडाहरु झनै ज्यामितीय रुपमा बढ्दै गइरहेको छ । सतही रुपमा हेर्दा जनजीवन सामान्य देखिए पनि दैनिक ज्यालादारी गर्नेहरु र आफ्नो उज्यालो भबिस्य देख्दै देशका विभिन्न सहरहरुमा भएका बिद्यार्थीहरुको पीडा शब्दले व्याख्या गर्न सक्दैनन् ।बिहान घाम झुल्केपछि पिडामा मलमपट्टि लगाउन कोही आउला कि भनेर आश मानेर बसिरहेका छन् । तपाइलाई तपाईं बन्न सक्ने, बनाउने तपाइकै हुम्ली मजदुर किसान बिद्यार्थीहरु विभिन्न सहरहरुमा साँझ परेपछि मन अमिलो बनाउदै भोलिको प्रतिक्षा गर्ने बाहेक अरु बिकल्प सोच्नै सकिरहेका छैनन् ।

अब यहि आशाहरु पनि लामो समय टिक्न सक्ने अवस्था छैन । राजनीतिक दल बिचको प्रतिस्पर्धाले निर्दोष जनताले दु ख पाउन सुहाउँछ र ? चुनाव मात्रै जित्नु ठूलो कुरा रहेनछ, चुनाव पछि पनि जनताको मन जित्नु ठूलो कुरा रहेछ । तपाईंसँग हुम्लाका अन्य नेतृत्वहरुसँग भन्दा धेरै र प्रभावकारी अनुभव छ । जनता सँग तपाईंप्रतिको बिश्वास छ ।

अब तपाइको हातमा छ, विश्वासको स्तम्भलाई अझ अडिक बनाउने वा ढलमलाउन छोडिदिने । तपाइको क्षमता माथि म प्रश्न गर्न चाहन्न । जनताले तपाइकै बारम्बार नेतृत्व चाहिरहेको कुरा २०४८ र २०७५ सालको चुनाबले प्रष्ट पारी सकेको छ। बिगतमा भएका संविधानसभाको चुनावमा तपाईंको विरुद्धमा सिङ्गो अहिलेको दुइ(तिहाइको ईहाई सरकारको नेतृत्व गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) र जिल्लाभर आफ्नो पकड जमाई रहेको नेपाली काङ्ग्रेस लागि रहदा पनि हुम्ली जनताले तपाईंका बिरोधी शक्तिहरुलाई पत्ताशाप गरेको कुरा अहिले पनि ताजै छ । तपाईंको नेकपाका केन्द्रियदेखि स्थानियस्तरका नेता(कार्यकर्ता तपाईंलाई चुनाव हराउन कै लागी टुपी कसेर दलबल र पैसासहित लागिरहदा सम्पुर्ण हुम्ली जनताहरुले एकरति पनि आश नमारी तपाईंलाई जिताउन कै लागि आफ्नो सबै कुराको जोखिम मोलेको कुरा हजुर लाई थाहा नै छ। र यो जोखिम मोल्नको लागि त्यति सामान्य थिएन। तपाईंलाई भोट हाल्न र चुनाव जिताउनकै लागि देशका विभिन्न शहरमा ज्याला मजदुरि गर्नेदेखि लिएर आफ्नो उज्ज्वल भबिस्य देख्दै अध्ययन गरि रहेका बिधार्थीहरु आफ्नो सबै काम पढाई छोडेर तपाईंको चुनाव प्रचारप्रसार लागि हुम्ला नगएको बिरलै भेतिएलान ।

अझै पनि हुम्ली जनताले तपाईंको नेतृत्व चाहिरहेका छन। कामना गर्छु, आगामी दिनमा पनि यथावत रहोस। तर यसका लागि तपाइको परीक्षा चलिरहेको आभास गरिरहेको छु । परीक्षा दिने तपाईं आफैले हो। नतिजा राम्रो वा नराम्रो आउने पनि तपाइकै हो । म चाहान्छु, यो परीक्षामा तपाईं नेपाल टपर बन्नुस धेरै शुभकामना । सम्भव भएसम्म आफै उपस्थित भएर, नभए तपाईं जहाँ हुनुहुन्छ त्यहीबाट तपाइसँग भएको प्रभावकारी योजना र लकडाउनमा भै रहेको प्रयास र कार्यान्वयन पक्षको बारेमा जानकारी दिनु भए हामी आभारी हुने थियौँ ।

कोरोनाबाट बच्न के गर्नु पर्छ ? त्यो त बच्चा(बच्चाले नि जानी सके। तर भोकमरीको पीडाबाट बच्न के गर्ने रु त्यो बच्चाका बाबा आमाले नि जान्न सकेनन । थाहा छ, काम गर्दा पनि कहिँ न कहिँबाट नकारात्मक टिप्पणी त आइनै हाल्छ्न। तर यो समय सबै आलोचनालाई पन्छ्याएर अगाडी बढ्नु पर्ने समय रहेछ । जनताको दुस्खमा जनप्रतिनिधि भन्ने अभियानसहित तपाइको सहभागिता देख्न पाउने आशा गर्दछु ।

  पुरन पुन
बिद्यार्थी नेता
    अखिल क्रान्तिकारी

(लेखक बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी संगठनसंग आबद्ध नेता हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार